
DCIM100MEDIADJI_0483.JPG
काठमाडौं । काठमाडौंको ऐतिहासिक टुँडिखेललाई हरियाली तथा नागरिकमैत्री खुला क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले भइरहेको सौन्दर्यीकरणको काम अन्तिम चरणमा पुगेको छ।
काठमाडौं महानगरपालिकाले सैनिक मञ्चको दक्षिणतर्फको क्षेत्रमा विशेष प्रजातिको बरमुढा दुबो रोप्ने कामलाई तीव्रता दिएको छ। दुबो रोपिएसँगै सुख्खा मौसममा धुलो र वर्षामा हिलो हुने समस्या कम हुने अपेक्षा गरिएको छ।

सौन्दर्यीकरणको जिम्मेवारी बेन्जामीन–सुस्मन–आरके जेभीले पाएको हो। आरके जेभीका सञ्चालक रविनकुमार गौतमका अनुसार करसहित २ करोड ४२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको काम करिब ९० प्रतिशत सम्पन्न भइसकेको छ। हाल ५० भन्दा बढी श्रमिक परिचालन गरी दुबो रोप्ने, मैदान व्यवस्थापन तथा आवश्यक पूर्वाधार निर्माण भइरहेको छ।


मैदानमा दुबो हरियो राख्न चार स्थानमा बोरिङको व्यवस्था गरिएको छ। करिब ६१ हजार २ सय ६३ वर्गमिटर क्षेत्रफलमा फैलिएको टुँडिखेललाई हरियाली र खुला क्षेत्रका रूपमा व्यवस्थित गर्ने महानगरको योजना छ।
सौन्दर्यीकरणपछि टुँडिखेल सर्वसाधारणका लागि हिँडडुल, व्यायाम, विश्राम तथा विभिन्न सार्वजनिक गतिविधिका लागि थप सहज हुने अपेक्षा गरिएको छ।

