
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन्। उनलाई गएराति काठमाडौंको महाराजगञ्जस्थित निवासबाटै पक्राउ गरिएको हो।
स्रोतका अनुसार अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले जबरालाई पक्राउ गरेको हो। उनीमाथि कुन कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको हो भन्नेबारे भने प्रहरीले तत्काल खुलाएको छैन।
जबराविरुद्ध २०७८ साल फागुनमा तत्कालीन प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता भएको थियो। प्रस्ताव दर्ता भएसँगै उनी प्रधानन्यायाधीश पदबाट निलम्बनमा परेका थिए। संघीय संसद्को अभिलेखमा पनि जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको र महाअभियोग सिफारिस समितिले प्रतिवेदन पेस गरेको उल्लेख छ।
को हुन् चोलेन्द्र शम्शेर जबरा ?
राणा परिवारका सदस्य जबरा वीरशमशेर जबराका चौथो पुस्ताका सन्तान हुन्। उनका पिता युवराज शमशेर तत्कालीन राजसभा स्थायी समितिका सदस्य थिए। यद्यपि जबरा राजनीतिमा लागेनन्।
वकालत पेसामा रहेका बेला उनी २०५३ वैशाख १ गते तत्कालीन पुनरावेदन अदालतको अस्थायी न्यायाधीश नियुक्त भएका थिए। त्यसपछि उनले विभिन्न अदालतमा न्यायाधीशका रूपमा जिम्मेवारी सम्हाले।
पुनरावेदन अदालत बुटवलको कामु मुख्य न्यायाधीश रहेका बेला उनी २०७१ सालमा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए।
ओमप्रकाश मिश्रको अवकाशपछि जबराले २०७५ पुस १८ गते प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए। उनको कार्यकाल भने विभिन्न विवादका कारण चर्चामा रह्यो। न्यायालयभित्रको विवाद बढ्दै गएपछि नेपाल बार एसोसिएसनलगायत कानुन व्यवसायीहरूले समेत उनको राजीनामाको माग गर्दै आन्दोलन गरेका थिए।
जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव लामो समयसम्म राजनीतिक तथा संवैधानिक बहसको विषयसमेत बनेको थियो।
जबरालाई अहिले कुन कसुरमा पक्राउ गरिएको हो भन्ने विषयमा आधिकारिक विवरण सार्वजनिक भएपछि घटनाको थप पाटो स्पष्ट हुनेछ।

