
दमौली। व्यास नगरपालिकाले सडक, ढल, नदी नियन्त्रण, सिँचाइ, शिक्षा तथा सार्वजनिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै विकास-निर्माणका कामलाई तीव्रता दिएको छ। नगरपालिकाले गत आर्थिक वर्षमा विभिन्न क्षेत्रमा उल्लेख्य पूर्वाधार निर्माण तथा विस्तार गरेको जनाएको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार आर्थिक वर्ष २०८२/८३ मा नगर क्षेत्रमा ६ दशमलव ४६ किलोमिटर नयाँ सडकको ‘ट्र्याक’ खोलिएको छ। सो अवधिमा ३ दशमलव ३९ किलोमिटर सडक कालोपत्र तथा ढलान र ६ दशमलव ८८ किलोमिटर सडक ग्राभेल गरिएको छ।
सडक पूर्वाधारसँगै सहरी व्यवस्थापन तथा सार्वजनिक संरचना निर्माणलाई समेत नगरपालिकाले प्राथमिकता दिएको लम्सालले बताए। गत आर्थिक वर्षमा ११ दशमलव ३६ किलोमिटर ढल निर्माण गरिएको छ भने कृषि उत्पादनमा सहयोग पुर्याउने उद्देश्यले थप नौ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार गरिएको छ।
सार्वजनिक तथा सामुदायिक पूर्वाधार निर्माणतर्फ गत आर्थिक वर्षमा तीन ओटा पार्क निर्माण भएका छन्। यस्तै, १५ ओटा नयाँ विद्यालय भवन र सामाजिक तथा सामुदायिक गतिविधिका लागि आवश्यक छ ओटा सामुदायिक भवन निर्माण गरिएको नगरपालिकाले जनाएको छ।
व्यास नगरपालिकामा हालसम्म सडक पूर्वाधारको क्षेत्रमा उल्लेख्य विस्तार भएको छ। नगरपालिकाका अनुसार हालसम्म १५८ दशमलव ६९ किलोमिटर सडक कालोपत्र तथा ढलान भइसकेको छ भने ३५ दशमलव ०९ किलोमिटर सडक ग्राभेल गरिएको छ।
नगरका विभिन्न बस्ती तथा ग्रामीण क्षेत्रलाई सडक सञ्जालसँग जोड्ने क्रममा हालसम्म ७२५ दशमलव ६७ किलोमिटर नयाँ सडकको ‘ट्र्याक’ खोलिएको छ। नगरपालिकाभित्र हालसम्म २२ ओटा मोटरेबल पुल र १५ ओटा झोलुङ्गे पुल निर्माण भएका छन्।
त्यसैगरी, नगर क्षेत्रमा हालसम्म ११८ दशमलव ९५ किलोमिटर ढल निर्माण भइसकेको छ। बाढी तथा नदी कटानबाट बस्ती र खेतीयोग्य जमिन जोगाउन हालसम्म पाँच दशमलव १७ किलोमिटर नदी नियन्त्रणको काम सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत लम्सालले बताए।
कृषि क्षेत्रमा सिँचाइ सुविधा विस्तारका लागि पनि नगरपालिकाले लगानी गर्दै आएको छ। हालसम्म २४ दशमलव ०७ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार गरिएको छ। गत आर्थिक वर्षमा मात्रै थप नौ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको नगरपालिकाले जनाएको छ।
खुला तथा मनोरञ्जनात्मक क्षेत्र विकासलाई समेत नगरपालिकाले पूर्वाधार योजनामा समेटेको छ। हालसम्म व्यास नगर क्षेत्रमा १९ ओटा पार्क निर्माण भएका छन्।

