
फाइल तस्बीर।
हुम्ला। कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका-२ रिप नजिकैको छारेभिरमा पहिरोसँगै ठूला ढुङ्गा खसेपछि सडक अवरुद्ध भएको छ। शनिबार पहिरो खस्दा करिब १०० मिटर सडक अवरुद्ध भएपछि कर्णाली करिडोरमा सवारी आवागमन ठप्प भएको हो।
पहिरोका कारण करिडोर हुँदै आवतजावत गर्ने यात्रु तथा सवारीसाधन बीच बाटोमै रोकिएका छन्। सडकमा ठूलाठूला ढुङ्गा थुप्रिएकाले तत्काल सडक खुलाउन कठिन भएको छ।
जिल्ला सदरमुकाम सिमकोटमा आइतबार सञ्चालन हुने स्वास्थ्य शिविरमा सहभागी हुन अदानचुली गाउँपालिकाबाट आएका २७ जनाभन्दा बढी नागरिकसमेत बाटोमै अलपत्र परेका छन्।
अदानचुली गाउँपालिका-२ का कमल बुढाका अनुसार आफू श्रीमतीको कानको उपचारका लागि शनिबार बिहान गाउँबाट सिमकोटतर्फ आएका थिए। तर, छारेभिरमा पहिरो खसेपछि उनीहरू सर्केगाडको खडीखेतमा रोकिएका छन्।
“पहिरोका कारण सर्केगाडको खडीखेतमा बसेर सडक खुल्ने आशामा पर्खिरहेका छौँ। स्वास्थ्य शिविरमा उपचारका लागि जाने नागरिक सडक अवरुद्ध भएपछि समयमै सिमकोट पुग्न नसक्ने चिन्तामा छन्,” बुढाले बताए।
प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईँले सडक खुलाउन पहल भइरहेको बताए। उनका अनुसार सडकमा ठूला ढुङ्गा खसेकाले सामान्य उपकरणबाट मात्रै सडक खुलाउन सम्भव छैन।
सडक खुलाउने विषयमा सडक विभागका प्रतिनिधि, अदानचुली गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहसहित उपलब्ध गाउँपालिका अध्यक्ष तथा सुरक्षा निकायका प्रमुखसँग छलफल गरिएको उनले बताए। आइतबार बिहानैदेखि सडक खुलाउने काम सुरु गर्ने तयारी गरिएको छ।
करिब १०० मिटर सडक क्षेत्रमा ठूला ढुङ्गा थुप्रिएकाले फुटाउनुपर्ने अवस्था रहेको गुरागाईँले बताए। दुर्गम क्षेत्रमा आवश्यक साधनस्रोत तत्काल उपलब्ध गराउन कठिन हुने भएकाले सडक खुलाउन केही समय लाग्ने उनको भनाइ छ।
उनका अनुसार आइतबार बिहानदेखि निरन्तर काम अघि बढाएर सम्भावित रूपमा पर्सि दिउँसोसम्म कर्णाली करिडोर सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।
वर्षायाममा बाढी, पहिरो र ढुङ्गा खस्ने समस्याका कारण कर्णाली करिडोर पटकपटक अवरुद्ध हुँदै आएको छ। करिडोर अवरुद्ध हुँदा हुम्लाका नागरिकको आवतजावतसँगै उपचार, खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीको ढुवानीसमेत प्रभावित हुने गरेको छ।

