
काठमाडौं। सरकारले भारत, चीन, अमेरिका, बेलायतसहित १३ देशका लागि नेपाली राजदूत नियुक्त गर्न नाम सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रस्तावित राजदूतहरूको नाम संसदीय सुनुवाइका लागि संघीय संसद्समक्ष पठाउने निर्णय गरेको हो।
सरकारले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र संयुक्त राज्य अमेरिकाका लागि चिरनजंग थापालाई राजदूतका रूपमा सिफारिस गरेको छ।
त्यस्तै, बेलायतका लागि गौरव शमशेर जंगबहादुर राणा, जापानका लागि जिग्यान कुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि शारू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा. मञ्चला झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई प्रस्तावित राजदूतका रूपमा सिफारिस गरिएको छ।
सिफारिस भएका नामहरू संसदीय सुनुवाइका लागि पठाइनेछन्। संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि सम्बन्धित मुलुकबाट सहमति – एग्रिमो प्राप्त गर्ने प्रक्रिया अघि बढ्नेछ र त्यसपछि राष्ट्रपतिबाट राजदूत नियुक्त हुने संवैधानिक व्यवस्था छ।
नागरिकता नियमावली र मौसम विज्ञान विभागको कार्यविभाजनमा संशोधन
मन्त्रिपरिषद् बैठकले नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय पनि गरेको छ।
त्यस्तै, साविकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गत रहेको नेपाल मौसम विज्ञान विभागलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत रहने गरी नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३ संशोधन गर्ने निर्णय गरिएको छ।
विद्युत् प्राधिकरणमा दीर्घायु श्रेष्ठ
बैठकले नेपाल विद्युत् प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ। नेपाल विद्युत् प्राधिकरणको वेबसाइटमा पनि श्रेष्ठलाई कार्यकारी निर्देशकका रूपमा उल्लेख गरिएको छ।
यसैगरी, सहसचिव रुद्र सिंह तामाङलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।


