
नुवाकोट। भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली नदीको बहाव बढ्दा नुवाकोटको तारकेश्वर गाउँपालिकाअन्तर्गत तारुकाघाट र दर्शनटार क्षेत्रमा नदी कटान तीव्र भएको छ।
त्रिशूली नदीले बस्ती तथा खेतीयोग्य जमिनतर्फ कटान बढाएपछि दर्जनौँ घर जोखिममा परेका छन्। केही घर आंशिक रूपमा बगिसकेका छन् भने नदी किनारका खेतबारी तथा अन्य संरचनासमेत जोखिममा छन्।

नदीको बहाव बढ्दै गएपछि स्थानीयमा घरबार नै बग्ने त्रास बढेको छ। धादिङको गल्छी हुँदै नुवाकोटको देवीघाटधाम पुग्ने सडक आसपाससमेत नदी कटानको प्रभाव देखिएको छ।
बाढीपछि नदीमा थुप्रिएको ढुंगा, बालुवा र माटोका कारण कतिपय स्थानमा नदीको धार परिवर्तन हुँदा कटानको जोखिम थप बढेको स्थानीयको भनाइ छ।
स्थानीयले जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै तत्काल तटबन्ध निर्माण र नदी नियन्त्रणका काम अघि बढाउन माग गरेका छन्। प्रभावित क्षेत्रमा स्थलगत निरीक्षण गरी तत्कालीन र दीर्घकालीन सुरक्षाका उपाय अपनाउनुपर्ने अवस्था देखिएको छ।









तस्बिर : प्रकाश चन्द्र तिमिल्सेना / नेपाल फोटो लाइब्रेरी


