
काठमाडौं। रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि सरकारले २ अर्ब ३४ करोड ३२ लाख १७ हजार ५०० रुपैयाँ लाग्ने अनुमान गरेको छ।
राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको ‘द्रुत क्षति तथा आवश्यकता आकलन’ प्रतिवेदनअनुसार बाढीबाट रसुवाका १८ ओटा विद्यालय प्रभावित भएका छन्। तीमध्ये ११ ओटा विद्यालय भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ७ ओटा विद्यालयमा आंशिक क्षति पुगेको छ।
बाढीका कारण विद्यालय भवनमा मात्रै क्षति पुगेको छैन। विद्यालयभित्र रहेका शैक्षिक सामग्री, फर्निचर तथा अन्य सम्पत्तिसमेत नष्ट भएका छन्। बाढीपछि प्रभावित क्षेत्रमा ९ हजारभन्दा धेरै विद्यार्थीको पठनपाठनसमेत अवरुद्ध भएको प्रतिवेदनमा उल्लेख छ।
सरकारले संरचना पुनर्निर्माण तथा विद्यार्थीको पठनपाठन सहज बनाउन तत्काल १० करोड ५० लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरेको छ। यस्तै, दीर्घकालीन पुनरुत्थानका लागि २ अर्ब २३ करोड ८२ लाख १७ हजार ५०० रुपैयाँ आवश्यक पर्ने आकलन गरिएको छ।
बाढीबाट प्रभावित विद्यार्थीको शैक्षिक निरन्तरताका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ समेत घोषणा गरेको छ। सरकारको आग्रहमा नेपालका निजी विद्यालयका पाँच ओटा संस्थाले बाढी प्रभावित विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन १ अर्ब रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
यसैबीच, बाढीबाट प्रभावित भएर विभिन्न स्थानमा बसिरहेका विद्यार्थीको पठनपाठन तत्काल सुचारु गर्न स्थानीय तहहरूले उनीहरूको पायक पर्ने विद्यालयमा अध्ययनको व्यवस्था मिलाउन सहजीकरण गरिरहेका छन्।
