Nepal Purbadhar

उद्धारमा लागेका निजी हेलिकप्टर उडानमा अनिवार्य सरकारी समन्वय गर्न आग्रह


काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार कार्यमा प्रयोग भइरहेका निजी हेलिकप्टरलाई सरकारी समन्वयमा मात्रै सञ्चालन गर्न भनिएको छ।

आफ्नै ढंगले हेलिकप्टर सञ्चालन गर्दा प्रभावित क्षेत्रमा हवाई ट्राफिक बढेर दुर्घटनाको जोखिम हुनसक्ने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा, नुवाकोट, गोरखा, धादिङ र चितवनका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको हो।

प्राधिकरणले हेलिकप्टरबाट खोज तथा उद्धार गर्नुपर्ने अवस्थामा जिल्ला सुरक्षा समितिले आवश्यक निर्णय गरी व्यवस्थित ढंगले उद्धार कार्य अघि बढाउन निर्देशन दिएको छ।

सेनाको हेलिकप्टर उडाउनुपर्ने अवस्था आएमा जिल्ला सुरक्षा समितिले सम्बन्धित जिल्लामा रहेको नेपाली सेनाको टोलीसँग समन्वय गर्नुपर्नेछ। निजी हेलिकप्टर आवश्यक परेमा प्राधिकरणले तोकेका सम्पर्क व्यक्तिसँग समन्वय गरी तत्काल उद्धारको व्यवस्था मिलाउन भनिएको छ।

निजी हेलिकप्टर व्यवस्थापनका लागि प्राधिकरणले हेली एभरेस्टका सचित अर्याल, अल्टिच्युड एयरका मिङ्मा शेर्पा र एयर डाइनेष्टीका बालकृष्ण पण्डितलाई सम्पर्क व्यक्ति तोकेको छ।

प्राधिकरणले जथाभावी हेलिकप्टर उडान गर्दा हुनसक्ने सम्भावित दुर्घटना तथा अन्य प्राविधिक समस्यालाई मध्यनजर गर्दै यस्तो व्यवस्था गरिएको जनाएको छ।


Read Previous

नुवाकोटमा वैकल्पिक लाइनबाट विद्युत् आपूर्ति सुचारु

Read Next

भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar