Nepal Purbadhar

वीर, टिचिङ र ट्रमा सेन्टरलाई घाइतेको उपचारका लागि तयारी अवस्थामा राखियो


काठमाडौं। रसुवामा आएको बाढीपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य आपतकालीन प्रणाली सक्रिय बनाएको छ। मन्त्रालयले प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई सतर्क अवस्थामा राख्दै घाइतेको उपचार तथा आवश्यक परे तत्काल रिफर गर्ने व्यवस्था मिलाएको जनाएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार बाढीको सूचना पाएलगत्तै मन्त्रालय बिहानदेखि नै सतर्क अवस्थामा रहेको छ। प्रभावित क्षेत्रका स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन जानकारी गराइएको छ भने स्वास्थ्य मन्त्रालयअन्तर्गतको हेल्थ इमर्जेन्सी अपरेसन सेन्टरसमेत सक्रिय पारिएको छ।

मन्त्रालयले रसुवा र आसपासका स्वास्थ्य संस्थामा प्राथमिक उपचार तथा बिरामीको अवस्था छुट्याउने ‘ट्रायज’को व्यवस्था मिलाएको छ। स्थानीयस्तरमा उपचार सम्भव नभएका गम्भीर घाइतेलाई हब अस्पतालमा रिफर गरी थप उपचार गर्ने विपद् कार्ययोजना कार्यान्वयनमा ल्याइएको मन्त्रालयले जनाएको छ।

सम्भावित गम्भीर घाइतेको उपचारका लागि वीर अस्पताल, ट्रमा सेन्टर र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई तयारी अवस्थामा राखिएको छ। प्रभावित क्षेत्रका अस्पताल तथा स्वास्थ्य संस्थाबाट रिफर भएर आउने बिरामीलाई काठमाडौंका ठूला अस्पतालमा व्यवस्थापन गर्ने तयारी गरिएको प्रवक्ता अधिकारीले बताएका छन्।

त्रिशूली अस्पताल, रसुवा अस्पताल, धुन्चे अस्पताल तथा आसपासका स्थानीय तहका स्वास्थ्य संस्थाबीच समन्वय गरी बिरामीको अवस्था हेरेर स्थानीयस्तरमै उपचार गर्ने वा तत्काल माथिल्लो तहको अस्पतालमा रिफर गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।

प्रवक्ता अधिकारीका अनुसार बाढीबाट गम्भीर घाइते भएर काठमाडौं आइपुगेकाको यकिन विवरण भने तत्काल उपलब्ध भइसकेको छैन। घाइते तथा प्रभावितको विवरण संकलन र अध्यावधिक गर्ने काम भइरहेको र थप विवरण प्राप्त भएपछि सार्वजनिक गरिने उनले बताएका छन्।


Read Previous

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा

Read Next

बाढीले फुर्केखोला पुल बगायो, पृथ्वी राजमार्गमा यात्रा जोखिमपूर्ण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar