
काठमाडौं । रसुवामा आएको बाढीपछि सरकारले राहत, उद्धार र खोजीमा परिचालन हुने निजी हेलिकप्टरलाई अनुमति लिनु नपर्ने निर्णय गरिएको छ।
विपद्पछि सरकारले नेपाली सेनाका २ ओटा उद्धार हेलिकप्टर र स्वास्थ्यकर्मीसहितको एउटा एमआई-१७ हेलिकप्टर गरी ३ ओटा हेलिकप्टरको टोली नुवाकोट र रसुवातर्फ पठाएको छ।
राहत, उद्धार र खोजीमा परिचालन हुने हेलिकप्टरमा इन्धन भर्न नुवाकोटको त्रिशूलीमा नेपाल आयल निगमले तत्काल हवाई इन्धनसहितको ट्यांकर काठमाडौंंबाट पठाएको छ।
त्यस्तै, धादिङ, नुवाकोट, रसुवा र चितवनका सबै सुरक्षा निकायलाई फिल्डमा परिचालन गरिएको छ।
विपद् प्रभावित धादिङ, नुवाकोट, रसुवा र चितवनमा नेपाल टेलिकमका फोन तथा डेटा सेवा उद्धार, राहत र समन्वयका लागि निःशुल्क उपलब्ध गराइएको छ।
यसअघि प्रधानमन्त्रीको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बिहान ११ बजे बसेको थियो। बैठकले उद्धार, राहत र समन्वयका लागि देशका सबै संयन्त्र परिचालन गर्ने निर्णय गरेको छ।

