
काठमाडौं। नेपाल टेलिकमले रसुवागढीमा आएको बाढीबाट प्रभावित क्षेत्रका बासिन्दाका लागि टेलिफोन, एसएमएस तथा इन्टरनेट सेवा निःशुल्क उपलब्ध गराउने भएको छ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि निःशुल्क टेलिफोन तथा इन्टरनेट सुविधा तत्काल उपलब्ध गराउन निर्देशन दिएका थिए।
नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेका अनुसार प्रभावित क्षेत्रका सेवाग्राहीलाई हालका लागि २ दिनसम्म अनलिमिटेड भ्वाइस सेवा, प्रतिदिन २ जीबी डाटा र ५० एसएमएस निःशुल्क उपलब्ध गराइनेछ।
टेलिकमले बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई सावधानी अपनाउन आग्रह गर्दै एसएमएसमार्फत निरन्तर जानकारीसमेत गराइरहेको छ।
नेपाल टेलिकमका अनुसार बाढीका कारण रसुवामा २ ओटा र नुवाकोटमा ५ ओटा गरी ७ ओटा टावरमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ। टावर तथा सेवा पूर्वाधारको मर्मतसम्भारका लागि टेलिकमको टोली प्रभावित क्षेत्रमा खटिइसकेको छ।

