
काठमाडौं। नेपालमा अल न्यु हुन्डाई भेन्युको बिक्री सुरू भएको छ। नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा नयाँ भेन्यु सार्वजनिक गर्दै बिक्री सुरू गरेको हो।
कम्पनीले नयाँ भेन्युलाई ४ ओटा भेरियन्टमा उपलब्ध गराएको छ। यसको सुरुआती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ छ भने भेन्यु एन लाइनको मूल्य ६७ लाख ९६ हजार रुपैयाँ तोकिएको छ।
नयाँ जेनेरेसन भेन्यु नेपालमै एसेम्बल भएको एसयूभी हो। लक्ष्मी मोटर कर्पोरेशनले एसेम्बल गरेको यस मोडलमा अघिल्लो संस्करणको तुलनामा डिजाइन, प्रविधि र सुविधामा सुधार गरिएको छ।
नयाँ भेन्युमा पहिलो पटक लेभल–२ एडीएएस, ३६० डिग्री क्यामेरा, ड्राइभ तथा ट्र्याक्सन मोड, फ्रन्ट पार्किङ सेन्सर, इलेक्ट्रिक पार्किङ ब्रेक र अटो होल्डलगायतका सुविधा छन्। टप भेरियन्टमा बोसको ८ स्पिकर र ड्यासबोर्डमा १२.३ इन्चका दुई ओटा स्क्रिन दिइएको छ।
इन्जिनतर्फ भने १.२ लिटर पेट्रोल, १.० लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल विकल्पलाई निरन्तरता दिइएको छ। गाडीमा भेन्टिलेटेड सिट, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टमसमेत उपलब्ध छ।
नेपालमै उत्पादन/एसेम्बल भएको नयाँ भेन्युले कम्प्याक्ट एसयूभी बजारमा हुन्डाईको प्रतिस्पर्धा थप बलियो बनाउने अपेक्षा गरिएको छ।
