Nepal Purbadhar

नेपाल आयो चेरीको नयाँ ‘क्यु-क्यु’ ब्रान्ड, नाइमामा सार्वजनिक


काठमाडौं। चिनियाँ अटोमोबाइल कम्पनी चेरीले आफ्नो नयाँ ‘क्यु-क्यु’ ब्रान्ड नेपाली बजारमा प्रवेश गराएको छ। कम्पनीले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को अवसर पारेर क्यु–क्यु ब्रान्डअन्तर्गतको क्यु३ इलेक्ट्रिक अर्बन क्रसओभर सार्वजनिक गरेको हो।

नाइमा एक्स्पोमा क्यु३ को कम्फर्ट भेरियन्टको मूल्य ३० लाख ९९ हजार रुपैयाँ र प्रिमियम भेरियन्टको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। कम्पनीका अनुसार यी भेरियन्टको एमआरपी क्रमशः ३४ लाख ४९ हजार र ३५ लाख ९९ हजार रुपैयाँ रहेको छ।

चेरी समूहअन्तर्गत नयाँ पुस्ताका विद्युतीय सवारीसाधनलाई लक्षित गरी क्यु–क्यु ब्रान्ड विकास गरिएको कम्पनीले जनाएको छ। आधुनिक सहरी जीवनशैलीलाई लक्षित गरी डिजाइन गरिएको क्यु३लाई नेपाली बजारमा नयाँ विद्युतीय विकल्पका रूपमा प्रस्तुत गरिएको हो।

एकपटकको चार्जमा ४०० किलोमिटरसम्म रेन्ज

चेरीका अनुसार क्यु३ मा ४१.२ किलोवाट–घण्टा क्षमताको ब्याट्री प्रयोग गरिएको छ। एकपटक पूर्ण चार्ज गर्दा यसले ४०० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ।

गाडीमा ५४० डिग्री क्यामेरा, १७५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स तथा ७० लिटर क्षमताको फ्रंक स्पेस रहेको छ।

त्यस्तै, क्यु३ मा १५.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम उपलब्ध छ। सुरक्षाका लागि २० भन्दा बढी एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस) फिचर समावेश गरिएको कम्पनीले जनाएको छ।

क्यु३लाई सहरी प्रयोगलाई ध्यानमा राखेर कम्प्याक्ट तर आधुनिक डिजाइनमा तयार गरिएको छ। नयाँ ब्रान्ड र प्रतिस्पर्धी मूल्यका कारण नेपाली विद्युतीय सवारी बजारमा क्यु३ले आकर्षण बढाउने अपेक्षा गरिएको छ।

रेड डट र आईएफ डिजाइन अवार्ड

चेरीका अनुसार क्यु–क्युले अन्तर्राष्ट्रिय डिजाइन क्षेत्रमा समेत पहिचान बनाएको छ। ब्रान्डले सन् २०२५ मा रेड डट डिजाइन अवार्ड तथा सन् २०२६ मा आईएफ डिजाइन अवार्ड प्राप्त गरेको कम्पनीले जनाएको छ।

नेपालमा पछिल्लो समय कम मूल्यका कम्प्याक्ट विद्युतीय एसयूभी तथा क्रसओभरप्रति ग्राहकको आकर्षण बढिरहेका बेला चेरीले क्यु–क्यु ब्रान्डमार्फत नयाँ प्रतिस्पर्धी थपेको हो।


Read Previous

नेपालमा निसानको नयाँ एसयूभी ‘टेकटन’ लन्च, मूल्य कति?

Read Next

विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन, एक महिनाको कार्यावधि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar