Nepal Purbadhar

मितेरी पुल बग्दा प्रभावित भयो रसुवा भन्सार, एक वर्षको राजस्व १३ अर्ब ६४ करोडमा सिमित

फाइल तस्बीर।


काठमाडौं । रसुवा भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा १३ अर्ब ६४ करोड ६० लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ। नेपाल–चीन जोड्ने मितेरी पुल बाढीले बगाएपछि लामो समय आयात–निर्यात प्रभावित हुँदा कार्यालयले निर्धारण गरिएको लक्ष्यको करिब एक तिहाइ मात्र राजस्व उठाउन सफल भएको हो।

रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुङ्गानाका अनुसार गत आर्थिक वर्षका लागि ४० अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिएको थियो। तर ल्हेन्दे खोलामा आएको बाढीले मितेरी पुल बगाएपछि नेपाल–चीनबीचको व्यापार लामो समय ठप्प हुँदा लक्ष्यअनुसार राजस्व सङ्कलन हुन सकेन।

चालु आर्थिक वर्ष २०८३/८४ का लागि भने कार्यालयले २५ अर्ब ५० करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ।

कार्यालयका अनुसार गत आर्थिक वर्षमा रसुवागढी नाका हुँदै ४३ अर्ब ७३ करोड रुपैयाँ बराबरका विभिन्न मालसामान नेपाल भित्रिएका थिए। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा भने ८५ अर्ब २३ करोड रुपैयाँ बराबरका वस्तु आयात भएका थिए।

चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित केरुङबाट दैनिक उपभोग्य वस्तु, तयारी पोसाक, विद्युतीय सामग्री, जलविद्युत् आयोजनाका उपकरण, विद्युतीय सवारीसाधन तथा अन्य औद्योगिक सामग्री यही नाकामार्फत नेपाल भित्रिने गरेका छन्।

रसुवा भन्सार कार्यालयका अनुसार रोल कपडा, तयारी पोसाक, जुत्ता–चप्पल, थर्मस, बालबालिकाका खेलौना, अदुवा, लसुन, अङ्गुर, ओखर, स्याउ, कुकर, विद्युतीय सवारीसाधन तथा बालबालिकाका पोसाकलगायतका सामग्री यही नाकाबाट आयात हुने गरेका छन्।

कार्यालयका सूचना अधिकारी करवीर गैह्रेका अनुसार वर्षायाममा प्राकृतिक विपद्का कारण सडक सञ्जाल अवरुद्ध हुने जोखिम रहे पनि यस वर्ष सडक सुधारका लागि चिनियाँ ठेकेदार कम्पनी उपकरणसहित तयारी अवस्थामा रहेको छ। साथै रसुवागढी नाकामा बेली ब्रिज निर्माण भइसकेकाले लामो समयसम्म सडक अवरुद्ध नहुने अपेक्षा गरिएको छ।


Read Previous

१२४ मेगावाटको जगदुल्ला ‘ए’ जलविद्युत आयोजनाको ग्रीड जडान सम्झौता, कहिलेसम्म निर्माण सुरु होला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar