Nepal Purbadhar

विद्युत् अवरोधको पूर्वसूचना सिधै ग्राहकसम्म पुर्‍याउन प्राधिकरणको अनलाइन केवाईसी अभियान


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् कटौती, मर्मत-सम्भार तथा सेवा अवरुद्धसम्बन्धी पूर्वसूचना सिधै ग्राहकसम्म पुर्‍याउने उद्देश्यले अनलाइन केवाईसी (ग्राहक पहिचान) सेवा सञ्चालनमा ल्याएको छ।

प्राधिकरणले विद्युत् प्रणाली सुधार तथा नियमित मर्मत-सम्भारका क्रममा हुने विद्युत् अवरोधबारे समयमै जानकारी उपलब्ध गराउन https://kyc.nea.org.np पोर्टल सञ्चालनमा ल्याएको जनाएको छ। यससँगै ग्राहकले केवाईसी अद्यावधिक गर्न कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले ग्राहकलाई निरन्तर, सुरक्षित र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउनु प्राधिकरणको मुख्य प्राथमिकता रहेको बताए।

उनका अनुसार प्रसारण तथा वितरण लाइनको मर्मत-सम्भार वा आकस्मिक कारणले विद्युत् अवरोध हुने अवस्था आएमा सम्बन्धित क्षेत्रका ग्राहकको मोबाइलमा एसएमएस तथा अन्य डिजिटल माध्यमबाट पूर्वसूचना पठाउन अनलाइन केवाईसी अभियान सुरु गरिएको हो।

योजना अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशकका अनुसार यसअघि ग्राहकले केवाईसी अद्यावधिक गर्न सम्बन्धित कार्यालयमै पुग्नुपर्ने व्यवस्था थियो। अब भने घरमै बसेर अनलाइनमार्फत आवश्यक विवरण अद्यावधिक गर्न सकिने व्यवस्था गरिएको छ।

प्राधिकरणका अनुसार प्रणालीमा ग्राहकको सही मोबाइल नम्बर र अन्य विवरण अद्यावधिक भएपछि सम्बन्धित क्षेत्रमा हुने विद्युत् अवरोध, महसुल, सेवा सूचना तथा अन्य आवश्यक जानकारी समयमै र पारदर्शी रूपमा ग्राहकसम्म पुर्‍याउन सहज हुनेछ।

अनलाइन प्रणाली लागू भएपछि ग्राहकको समय बचत हुने, कार्यालयमा हुने भीडभाड कम हुने तथा सेवा प्रवाह थप प्रभावकारी बन्ने प्राधिकरणको विश्वास छ।

ग्राहकहरूले मोबाइल वा कम्प्युटरको ब्राउजरबाट https://kyc.nea.org.np मा गई आफ्नो Customer ID तथा आवश्यक विवरण प्रविष्ट गरेर जुनसुकै समय केवाईसी अद्यावधिक गर्न सक्नेछन्।


Read Previous

बीमा क्षेत्र सुधारका लागि अध्ययन समिति गठन, ९० दिनभित्र सुझाव पेस गर्ने

Read Next

‘राइट अफ वे’का कारण रोकिएको गोरखाको घ्याम्पेसालको नयाँ सबस्टेसन सञ्चालनमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar