Nepal Purbadhar

ग्यास अभाव देखिएपछि वाणिज्य विभाग एक्सनमा, उद्योगहरूमा अनुगमन तीव्र, केहिलाई कार्वाही


काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यास उद्योग तथा डिपोमा अनुगमन तीव्र पारेको छ। विभिन्न स्थानमा उपभोक्ताले रित्ता सिलिन्डर लिएर लाम लाग्न थालेपछि विभागले वितरण प्रणालीमाथि निगरानी बढाएको हो।

सोमबार विभागको टोलीले काठमाडौंको पेप्सीकोलास्थित सगरमाथा ग्यासको डिपोमा अनुगमन गर्दै उपभोक्तालाई समानुपातिक र नियमित रूपमा ग्यास वितरण गर्न निर्देशन दिएको छ। सगरमाथा ग्यासले ‘सगर’ ब्रान्डका नाममा एलपी ग्यास बिक्री गर्दै आएको छ।

विभागका अनुसार ग्यास आपूर्ति र वितरण प्रक्रियामा कुनै प्रकारको कृत्रिम अभाव वा असमान वितरण हुन नदिन अन्य ग्यास उद्योगमा पनि क्रमशः अनुगमन गरिनेछ।

पछिल्ला केही दिनयता काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा ग्यास प्राप्त गर्न उपभोक्ताले डिपोमा लाम लाग्न थालेका छन्। यसले बजारमा आपूर्तिको अवस्था र वितरण प्रणालीबारे प्रश्न उठ्न थालेपछि विभागले निगरानी बढाएको जनाएको छ।

यसैबीच विभागले नियमित बजार अनुगमनका क्रममा भक्तपुरको राधेराधेस्थित बर्गर हाउसलाई खरिद बिल तथा बिजक नराखेको पाइएपछि ५ हजार रुपैयाँ जरिवाना गरेको छ।

त्यस्तै, ललितपुरको भैँसेपाटीस्थित हेल्दी बाइट्स सर्भिसेसलाई व्यवसाय दर्ता, प्यान, कर चुक्ता तथा खरिद–बिक्रीसम्बन्धी आवश्यक कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

विभागले उपभोक्ताको हित संरक्षण, कृत्रिम अभाव नियन्त्रण तथा बजारलाई व्यवस्थित बनाउन नियमित अनुगमनलाई थप प्रभावकारी बनाइने जनाएको छ।


Read Previous

दुई वर्षपछि सञ्चालनमा आयो भेरी अस्पतालको सिटी स्क्यान, भारत जानुपर्ने बाध्यता हट्ने

Read Next

अध्ययन भन्छ- सूक्ष्म, साना तथा मझौला उद्यममा बीमा पहुँच कमजोर, नीतिगत सुधार गर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar