
काठमाडौं । काठमाडौँ महानगरपालिका र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एईपीसी)बीच टेकुस्थित बायोग्याँस प्लान्ट पुनः सञ्चालनमा ल्याउने सम्झौता भएको छ। सहरमा उत्पादन हुने जैविक फोहोरलाई आधुनिक प्रविधिमार्फत व्यवस्थापन गर्दै ऊर्जा र जैविक मल उत्पादन गर्ने उद्देश्यका साथ सोमबार सम्झौतामा हस्ताक्षर गरिएको हो।
महानगरको कार्यालयमा आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डंगोलको रोहवरमा महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
डंगोलले जैविक फोहोरको दिगो व्यवस्थापनका लागि प्रविधिको प्रयोग विस्तार गर्ने लक्ष्यसहित सम्झौता गरिएको बताउँदै निर्धारित समयभित्र प्लान्ट सञ्चालनमा आउने विश्वास व्यक्त गरिन्।
उनले प्लान्ट पुनःस्थापना मात्र नभई यसको दीर्घकालीन र दिगो सञ्चालन अझ महत्वपूर्ण भएको उल्लेख गर्दै यसलाई अन्य स्थानीय तहका लागि पनि सिकाइको नमुना बनाउनुपर्ने धारणा राखिन्।
केन्द्रका कार्यकारी निर्देशक ढकालले प्लान्ट सञ्चालनका लागि आवश्यक उपकरण, सामग्री र प्राविधिक सेवा उपलब्ध गराई परीक्षणपछि महानगरलाई हस्तान्तरण गरिने जानकारी दिए। उनले हरित जलवायु कोषअन्तर्गतका कार्यक्रममा पनि महानगरसँग सहकार्यको सम्भावना रहेको बताए।
दैनिक ३ टन फोहोरबाट बिजुली, मल र पानी उत्पादन गर्ने लक्ष्य
टेकुस्थित बायोग्याँस प्लान्ट काठमाडौँ महानगरपालिकाको एकीकृत दिगो फोहोर व्यवस्थापन परियोजनाअन्तर्गत २०७२ सालमा निर्माण सुरु भई २०७५ सालदेखि सञ्चालनमा आएको थियो। तर प्राविधिक समस्याका कारण केही समयपछि प्लान्ट बन्द भएको थियो।
यो प्लान्ट पूर्ण क्षमतामा सञ्चालन हुँदा दैनिक ३ मेट्रिक टन जैविक फोहोर प्रशोधन गरी १४ किलोवाट बिजुली, ३०० किलोग्राम जैविक मल र १३ हजार ५०० लिटर पानी उत्पादन गर्ने लक्ष्य राखिएको थियो।
परियोजनामा काठमाडौँ महानगरपालिका र युरोपियन युनियनको करिब १ करोड ८२ लाख रुपैयाँ लगानी रहेको छ।
व्यावसायिक मोडलमा सञ्चालन गर्ने तयारी
सम्झौताअनुसार महानगरपालिकाले प्लान्टको दीर्घकालीन सञ्चालन तथा मर्मतका लागि आवश्यक बजेट व्यवस्थापन गर्नेछ। साथै योग्य जनशक्ति वा सञ्चालक छनोट गरी सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा सञ्चालन गर्ने योजना अघि बढाइनेछ।
महानगरले फोहोरलाई स्रोतका रूपमा प्रयोग गरी बायोग्याँस र जैविक मल उत्पादनमार्फत चक्रीय अर्थतन्त्र (सर्कुलर इकोनोमी) प्रवर्द्धन गर्ने लक्ष्य लिएको जनाएको छ।
यस्तै, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले प्लान्टको विस्तृत सम्भाव्यता अध्ययन, आवश्यक उपकरण खरिद, जडान, परीक्षण तथा सञ्चालनको प्रारम्भिक चरण पूरा गरी महानगरलाई हस्तान्तरण गर्ने जिम्मेवारी लिएको छ।
बञ्चरेडाँडामा जाने फोहोर घटाउने लक्ष्य
महानगरका अनुसार यो परियोजना सफल भए कुहिने फोहोरको वैज्ञानिक व्यवस्थापनमा टेवा पुग्नुका साथै बञ्चरेडाँडा ल्यान्डफिल साइटमा पुग्ने फोहोरको मात्रा पनि घट्नेछ।
यससँगै फोहोरबाट ऊर्जा र जैविक मल उत्पादन गरी आम्दानी बढ्ने, वातावरण संरक्षणमा योगदान पुग्ने तथा काठमाडौंको फोहोर व्यवस्थापनलाई दिगो र आधुनिक बनाउने अपेक्षा गरिएको छ।
