
काठमाडौं। नेपाल उद्योग परिसंघ (सीएनआई) ले सुनसरीको देवानगञ्ज गाउँपालिका–७, कप्तानगञ्ज तथा त्यसपछिका पूर्वी नेपालका केही जिल्लामा उत्पन्न परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्ति कायम राख्न सबै पक्षसँग अपिल गरेको छ।
बिहीबार जारी प्रेस विज्ञप्तिमा परिसंघले नेपाल धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भावको मुलुक भएको उल्लेख गर्दै यही विशेषतालाई जोगाइराख्न सबै नागरिक, समुदाय र सरोकारवालाले संयमता अपनाउनुपर्ने जनाएको छ।
परिसंघले कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान वार्ता र संवादबाट सम्भव हुने उल्लेख गर्दै आन्दोलन, हिंसा वा द्वन्द्वबाट समाधान ननिस्कने भएकाले शान्तिपूर्ण माध्यमबाट समस्या समाधान गर्न आग्रह गरेको छ।
विज्ञप्तिमा मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेका बेला यस्ता घटनाले थप निराशा सिर्जना गर्ने उल्लेख गरिएको छ। आन्दोलनका क्रममा जनधनको क्षतिसँगै सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, बजार तथा पसल बन्द गराउने र लुटपाटका घटनाप्रति परिसंघले गम्भीर चिन्ता व्यक्त गरेको छ।
उद्योग व्यवसाय र आम नागरिकको सुरक्षाको प्रत्याभूति दिलाउन नेपाल सरकार तथा सम्बन्धित सबै निकायसँग आग्रह गर्दै परिसंघले कानुनी शासन कायम राखी शान्ति–सुरक्षा सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ।
परिसंघले समाजमा सामाजिक, धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न आफ्ना सबै प्रदेश तथा जिल्ला संगठनका साथै निजी क्षेत्रका अन्य संघ–संस्थालाई पनि शान्ति स्थापना र सद्भाव प्रवर्द्धनका गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेको छ।
