
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न उच्चस्तरीय वार्ता समिति गठन गरेका छन्। बिहीबार मन्त्रिस्तरीय निर्णयमार्फत अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा समिति गठन गरिएको हो।
अर्थमन्त्रीले समितिलाई बिहीबारदेखि नै आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता सुरु गर्न निर्देशन दिएका छन्। समितिको पहिलो बैठक केही बेरमा अर्थ मन्त्रालयमा बस्ने तय भएको छ। उक्त बैठकले वार्ताको कार्ययोजना तय गर्दै आजै पीडित पक्षसँग संवाद सुरु गर्ने तयारी गरेको छ।
समितिमा कानुन मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल सदस्य रहेका छन्। समितिको सदस्य सचिवका रूपमा अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्यलाई जिम्मेवारी दिइएको छ।
सरकारले आन्दोलनरत लघुवित्त पीडितका मागलाई संवादमार्फत सम्बोधन गर्ने उद्देश्यले वार्ता समिति गठन गरेको जनाएको छ।
