
काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले सप्तरीको खड्क नगरपालिका–पनसेरामा निर्माण सम्पन्न गरेको ३३/११ केभी, ६/८ एमभीए क्षमताको नयाँ सबस्टेसन सञ्चालनमा ल्याएको छ। बुधबार साँझदेखि सञ्चालनमा आएको उक्त सबस्टेसनले सप्तरीका विभिन्न क्षेत्रमा विद्युत् आपूर्तिको गुणस्तरमा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ।
प्राधिकरणका अनुसार करिब १२ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको आयोजनाअन्तर्गत १० किलोमिटर लामो ११ केभी विद्युत् लाइनसमेत निर्माण गरिएको छ। नयाँ पूर्वाधार सञ्चालनमा आएपछि खड्क नगरपालिका तथा सुरुंगा नगरपालिकाअन्तर्गत कदमाहा, लालपट्टा, कल्याणपुरलगायत क्षेत्रका करिब १५ हजार विद्युत् उपभोक्ता प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्।
नयाँ सबस्टेसन सञ्चालनमा आएसँगै ती क्षेत्रमा लामो समयदेखि देखिँदै आएको कम भोल्टेज, बारम्बार लाइन ट्रिप हुने तथा विद्युत् आपूर्तिमा हुने अवरोधको समस्या उल्लेखनीय रूपमा घट्ने प्राधिकरणले जनाएको छ। यसबाट भोल्टेज प्रोफाइलमा सुधार आउनुका साथै उपभोक्ताले थप स्थिर, भरपर्दो र गुणस्तरीय विद्युत् सेवा प्राप्त गर्ने विश्वास गरिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले मधेश प्रदेशमा विद्युत् सेवाको गुणस्तर सुधारका लागि यो महत्वपूर्ण उपलब्धि भएको बताए। उनले सरकारको लक्ष्य विद्युत् उत्पादन बढाउनु मात्र नभई उत्पादन भएको विद्युत् प्रत्येक घरपरिवार, उद्योग तथा व्यवसायसम्म गुणस्तरीय, सुरक्षित र भरपर्दो रूपमा पुर्याउनु रहेको उल्लेख गरे।
मन्त्री श्रेष्ठले प्रसारण तथा वितरण प्रणालीलाई आधुनिक, सुरक्षित र विश्वसनीय बनाउने अभियान देशभर तीव्र गतिमा अघि बढिरहेको बताउँदै नागरिकका गुनासालाई समाधानमा रूपान्तरण गर्ने सरकारको प्रतिबद्धता कायम रहने बताए।
नेपाल विद्युत् प्राधिकरणले पछिल्ला वर्षहरूमा वितरण प्रणाली सुदृढीकरण, नयाँ सबस्टेसन निर्माण तथा प्रसारण लाइन विस्तारलाई प्राथमिकतामा राख्दै विद्युत् सेवाको गुणस्तर सुधार गर्ने कार्यक्रमलाई तीव्रता दिएको छ।

