Nepal Purbadhar

बाग्मती किनारबाट हटाइएका सुकुम्बासी बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण हुने

फाईल तस्बीर।


काठमाडौं। बाग्मती नदी किनारबाट हटाइएका अव्यवस्थित बसोबास भएका क्षेत्रलाई खुला सार्वजनिक क्षेत्रका रूपमा विकास गरिने भएको छ। ती क्षेत्रमा हरित क्षेत्र, खेलमैदान, पदमार्ग तथा नदी पुनर्जीवनसँग सम्बन्धित पूर्वाधार निर्माण गर्ने सरकारको योजना छ।

अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले हटाइएका बस्ती रहेका स्थानमा स्थायी कङ्क्रिट संरचना निर्माण नगरी सबै नागरिकले सहज रूपमा उपयोग गर्न सक्ने खुला क्षेत्र विकास गरिने जनाएको छ।

समितिका आयोजना निर्देशक मचाकाजी महर्जनले नदीको प्राकृतिक बहाव संरक्षण, बाढी व्यवस्थापन प्रभावकारी बनाउने तथा सार्वजनिक प्रयोगका खुला क्षेत्र विकास गर्ने उद्देश्यले छुट्टै गुरुयोजना तयार भइरहेको बताए। उनका अनुसार उक्त गुरुयोजना अन्य विद्यमान सहरी योजनासँग तालमेल हुने गरी तयार पारिँदैछ।

“हामी सबै नागरिकको पहुँच हुने खुला सार्वजनिक क्षेत्र निर्माण गर्दैछौँ। यहाँ पदमार्ग, हरित क्षेत्र र खुला मनोरञ्जनस्थल बन्नेछन्, तर स्थायी कङ्क्रिट भवन निर्माण गरिने छैन,” उनले भने।

महर्जनका अनुसार नदी व्यवस्थापनको उद्देश्य नदीलाई पर्खालभित्र सीमित गर्नु नभई प्राकृतिक बहावका लागि पर्याप्त खुला क्षेत्र सुरक्षित गर्नु हो। अत्यधिक वर्षा वा बाढीका बेला नदी सहज रूपमा फैलिन सक्ने गरी खुला पार्क र हरित क्षेत्र विकास गरिने उनले बताए।

समितिका कार्यकारी समिति अध्यक्ष डा. आनन्दसिंह भाटले बाग्मतीलाई बाढी नियन्त्रण, सरसफाइ र हरियालीसँग जोडिएको सार्वजनिक खुला क्षेत्रका रूपमा विकास गरिने बताए। भविष्यमा बाग्मती किनारमा हरियाली, खुला खेलमैदान र नागरिकमैत्री वातावरण देख्न पाइने उनको विश्वास छ।

बल्खु, बंशीघाट, थापाथली, गैरीगाउँ, सिनामङ्गल र शङ्खमूललगायत क्षेत्रमा हटाइएका बस्तीका अधिकांश भग्नावशेष हटाउने काम लगभग सम्पन्न भइसकेको समितिले जनाएको छ। हटाइएका डेब्रिस र माटोलाई भू–आकृतिअनुसार व्यवस्थित रूपमा मिलाएर प्रयोग गरिएको छ।

महर्जनका अनुसार बंशीघाट क्षेत्रमा करिब एक मिटर जमिन पुरी घाँसे मैदान निर्माणका लागि तयारी गरिएको छ। त्यहाँ खेलकुदका लागि उपयुक्त खुला क्षेत्र विकास गर्नुका साथै वृक्षरोपण गरिनेछ। आगामी दिनमा फुटबल मैदान, ब्याडमिन्टन कोर्टलगायत खेलकुद पूर्वाधार निर्माण गर्ने योजना छ।

विश्व निकेतन विद्यालय नजिक प्रशोधन केन्द्र निर्माण गर्ने योजना रहेको र बंशीघाट क्षेत्रलाई विद्यालयले खेलकुद प्रयोजनका लागि प्रयोग गर्ने समझदारीसमेत भएको समितिले जनाएको छ।

बल्खु क्षेत्रमा नदीको बहाव क्षेत्र विस्तारलाई प्राथमिकता दिइने भएको छ। हाल करिब ४० मिटर चौडाइमा सीमित नदीलाई निर्धारित ८० मिटर बहाव क्षेत्रसम्म विस्तार गरी बाँकी भागमा हरित क्षेत्र, खुला पार्क तथा सार्वजनिक उपयोगका पूर्वाधार निर्माण गरिनेछ।

शङ्खमूल क्षेत्रमा खुला खेलमैदान तथा खेलकुद केन्द्र विकास गर्ने अवधारणा अघि सारिएको छ। गैरीगाउँ र सिनामङ्गल क्षेत्रमा हाल पाँचदेखि १० मिटर चौडाइमा रहेको नदीलाई न्यूनतम ३० मिटर चौडा बनाइनेछ। त्यसपछि बाँकी क्षेत्रमा घाँसे मैदान, पार्किङ, प्रतीक्षास्थल, खुला पार्क तथा खेलकुद संरचना निर्माण गरिने समितिले जनाएको छ।

थापाथली क्षेत्रमा नदीको बहाव क्षेत्र करिब ६० मिटर पुर्‍याइनेछ। त्यसपछि करिडोर सडकलाई थापाथली अस्पतालतर्फबाट पुलमुनि हुँदै बंशीघाटसम्म निरन्तर जोड्ने योजना छ। यस क्रममा सम्पदा र स्मारक क्षेत्रमा असर नपर्ने गरी डिजाइन तयार गरिने समितिले जनाएको छ।

समितिका अनुसार बल्खुमा रिटेनिङ वाल, नदी किनार व्यवस्थापन र पार्क निर्माणको काम अघि बढाइनेछ। सिनामङ्गल क्षेत्रमा करिडोर सडक, रिभर ट्रेनिङ वाल तथा नदी व्यवस्थापनका आयोजना समानान्तर रूपमा कार्यान्वयन गर्ने तयारी छ।

समितिले गत आर्थिक वर्षमै गुरुयोजनाको प्रस्ताव तयार गरेको थियो। चालु आर्थिक वर्षमा नदी व्यवस्थापनका विभिन्न कार्यक्रमअन्तर्गत करिब २ अर्ब रुपैयाँ बजेट विनियोजन भएको छ। सोही बजेटबाट विस्तृत डिजाइन र लागत अनुमान तयार भइरहेको छ।

दशैंअघि ठेक्का सम्झौता सम्पन्न गरी निर्माण कार्य शुरू गर्ने लक्ष्य रहेको आयोजना निर्देशक महर्जनले बताए।

सहरी विकास मन्त्रालयसँगको सहकार्यमा बहुवर्षीय ढाँचाअन्तर्गत आवश्यक बजेट सुनिश्चित गरी तीन वर्षभित्र योजना कार्यान्वयन गर्ने तयारी गरिएको समितिले जनाएको छ।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत ‘भिजन काठमाडौं–२०४०’ कार्यान्वयन शुरू गर्ने घोषणा गरेको छ। उक्त योजनाअन्तर्गत काठमाडौं उपत्यकाका नदी करिडोरमा पूर्वाधार, पार्क निर्माण, एकीकृत फोहोरमैला व्यवस्थापन, ढलमुक्त नदी अभियान तथा नदी किनारमा हरियाली प्रवर्द्धनका कार्यक्रम अघि बढाइने उल्लेख छ।


Read Previous

गत भादौ २३-२४ को घटनाका ७ शव अझै पहिचानविहीन, ओली-लेखकसहित ३४९ जनाविरुद्ध २४८ मुद्दा

Read Next

निजी क्षेत्रलाई विद्युत व्यापारमा प्रवेश गराउन सरकार सकारात्मक, कानुनी विकल्प अध्ययन हुँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar