
काठमाडौं। नेपालमा म्याक्सस सवारीसाधनको आधिकारिक आयातकर्ता तथा वितरक हिमालय मोट्रोक्स प्रालिले नयाँ विद्युतीय पिकअप म्याक्सस ई-टेरोन ९ कम्फर्ट सार्वजनिक गरेको छ। कम्पनीले यो मोडल पहिलो ५० जना ग्राहकका लागि परिचयात्मक मूल्य ८८ लाख रुपैयाँमा उपलब्ध गराउने जनाएको छ।
कम्पनीका अनुसार ई-टेरोन ९ कम्फर्ट दैनिक प्रयोग, लामो दूरीको यात्रा, कच्ची तथा कठिन सडकमा यात्रा र व्यावसायिक प्रयोजनलाई लक्षित गरी विकास गरिएको प्रिमियम चारपाङ्ग्रे विद्युतीय पिकअप हो।
यसमा १०२.२ किलोवाट-घण्टा क्षमताको ब्याट्री जडान गरिएको छ। कम्पनीका अनुसार एनईडीसी मापदण्डअनुसार एकपटक पूर्ण चार्ज गर्दा यसले ५६० किलोमिटरसम्म यात्रा गर्न सक्छ। ११५ किलोवाट क्षमताको द्रुत चार्जिङ सुविधा रहेको गाडीको ब्याट्री २० प्रतिशतबाट ८० प्रतिशतसम्म करिब ४२ मिनेटमा चार्ज गर्न सकिन्छ।

५.८ सेकेन्डमै १०० किलोमिटर प्रतिघण्टाको गति
ई–टेरोन ९ कम्फर्टमा अगाडि १२५ किलोवाट र पछाडि २०० किलोवाट क्षमताका दुईवटा विद्युतीय मोटर जडान गरिएको छ। यी मोटरले ७०० न्यूटन–मिटर घुमाउने बल उत्पादन गर्ने कम्पनीले जनाएको छ।
गाडीले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति ५.८ सेकेन्डमा लिन सक्छ भने अधिकतम १९० किलोमिटर प्रतिघण्टाको गति हासिल गर्न सक्ने बताइएको छ।
यसले १ हजार ५० किलोग्रामसम्म भार बोक्न तथा ३ हजार ५०० किलोग्रामसम्मको ब्रेकयुक्त ट्रेलर तान्न सक्छ। यसको सामान राख्ने भागको आकार १ हजार ५६१ × १ हजार ५०० × ५३५ मिलिमिटर रहेको छ।
कठिन सडकमा पनि चलाउन सकिने
गाडीमा विभिन्न सडक तथा कठिन भौगोलिक अवस्थाका लागि सर्वभू–भाग प्रणाली उपलब्ध छ। यसले ५४५ मिलिमिटरसम्म गहिरो पानी पार गर्न सक्छ। गाडीमा २९ डिग्रीको अगाडितर्फ चढ्ने कोण र २५ डिग्रीको पछाडितर्फ झर्ने कोण रहेको छ।

आधुनिक सुविधा
म्याक्सस ई–टेरोन ९ कम्फर्टमा १२.३ इन्चको डिजिटल उपकरण पटल र १२.३ इन्चको स्पर्शपर्दा सूचना तथा मनोरञ्जन प्रणाली दिइएको छ।
गाडीमा मोबाइल फोन जडान प्रणाली, स्वचालित वातानुकूलन, विद्युतीय रूपमा समायोजन गर्न सकिने चालक सिट, यूएसबी तथा टाइप–सी चार्जिङ पोर्ट, चाबी ननिकाली प्रवेश गर्न सकिने सुविधा, बटन थिचेर गाडी शुरू गर्ने सुविधा, स्वचालित बत्ती तथा सिसा सफा गर्ने यन्त्र र बाह्य उपकरण चलाउन सकिने विद्युत् सुविधा लगायत छन्।
कम्पनीका अनुसार यो विद्युतीय पिकअपले युरोपेली नयाँ कार मूल्यांकन कार्यक्रमको पाँचतारे सुरक्षा मूल्यांकन प्राप्त गरेको छ।
यसमा विद्युतीय स्थिरता नियन्त्रण, विद्युतीय ब्रेक सहायता, उकालोमा गाडी पछाडि नझर्ने प्रणाली, ओरालो नियन्त्रण प्रणाली, टायरको हावाको चाप निगरानी प्रणाली, पछाडिको क्यामेरा, अगाडि तथा पछाडिका पार्किङ सेन्सर, गति नियन्त्रण र स्वचालित रोक प्रणालीलगायत सुरक्षा सुविधा छन्। चालक र अगाडिको यात्रुका लागि वायुसुरक्षा थैली पनि उपलब्ध छन्।
ब्याट्रीमा ८ वर्षसम्मको प्रत्याभूति
हिमालय मोट्रोक्सले ई–टेरोन ९ कम्फर्टमा ८ वर्ष वा २ लाख किलोमिटरसम्मको ब्याट्री प्रत्याभूति उपलब्ध गराउने जनाएको छ। गाडीमा भने ५ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्मको प्रत्याभूति दिइनेछ।
कम्पनीका अनुसार ८८ लाख रुपैयाँको परिचयात्मक मूल्य पहिलो ५० जना ग्राहकका लागि मात्र लागू हुनेछ। त्यसपछि गाडीको मूल्य पुनः परिमार्जन हुन सक्ने जनाइएको छ।
