Nepal Purbadhar

पूर्वाधारमैत्री सरकारी निर्णयको निर्माण व्यवसायीद्वारा स्वागत, जिम्मेवार भएर काम गर्न आग्रह


सार्वजनिक खरिद नियमावलीको १५औँ संशोधनले राहत दिएको दाबी,महासंघलाई प्रविधिमैत्री र आधुनिक बनाउने प्रतिबद्धता

काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघका कार्यवाहक अध्यक्ष रामजी पन्त ‘मुकेश’ले पूर्वाधार क्षेत्रको विकासका लागि वर्तमान सरकारले गरेका पछिल्ला निर्णयहरूको स्वागत गरेका छन् ।

दाङको घोराहीमा बुधबार आयोजित निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको छैटौँ साधारण सभा तथा तेस्रो अधिवेशनलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै पन्तले पूर्वाधारमैत्री निर्णयका लागि सरकारप्रति आभार व्यक्त गरे ।

उनले सार्वजनिक खरिद (दोस्रो संशोधन) ऐन निर्माण उद्योगका लागि कोशेढुंगा सावित हुने बताए । ‘लो बिडिङ’मार्फत ठेक्का लिएर काम गर्ने प्रवृत्तिको अन्त्य गर्दै औसत विधिबाट ठेक्का प्राप्त गर्ने संशोधित व्यवस्थाले पूर्वाधार क्षेत्रका अधिकांश समस्या समाधान गर्ने विश्वास उनले व्यक्त गरे ।

संशोधित ऐनमा बजेट विनियोजन वा स्रोत सुनिश्चित नभई खरिद प्रक्रिया शुरू गर्न नपाइने, जग्गा, मुआब्जा, निर्माणस्थल र वातावरणीय स्वीकृति पूरा भएपछि मात्र बोलपत्र आह्वान गर्नुपर्ने तथा सरकारद्वारा स्वीकृत मापदण्डअनुसार लागत अनुमान तयार गर्नुपर्ने व्यवस्था गरिएकोप्रति उनले स्वागत गरे ।

त्यस्तै, आयोजना निर्माणमा रोजगारदाता, निर्माण व्यवसायी, आपूर्तिकर्ता र परामर्शदाताको जिम्मेवारी स्पष्ट रूपमा तोकिनु, समयमै गुणस्तरीय काम सम्पन्न गर्ने कर्मचारी तथा निर्माण व्यवसायीलाई प्रोत्साहन र सम्मानको व्यवस्था गरिनु सकारात्मक भएको उनको भनाइ थियो ।

निर्माण व्यवसायी आर्थिक रूपमा इतिहासकै कठिन अवस्थामा रहेको समयमा म्याद थप सुनिश्चित हुने गरी सार्वजनिक खरिद नियमावलीको १५औँ संशोधन गरिएकोमा पन्तले सरकारप्रति धन्यवाद व्यक्त गरे ।

निर्माण व्यवसायीलाई राहत पुग्ने गरी नेपाल राष्ट्र बैंकबाट जारी मौद्रिक नीति तथा सोहीअनुसारका निर्देशनले निर्माण उद्योगलाई चलायमान बनाउन सहयोग गर्ने उनले बताए ।

महासंघको वर्तमान नेतृत्व निर्माण व्यवसायीमैत्री हुने गरी निर्माण व्यवसायी ऐन, २०५५ संशोधनका लागि सक्रिय रहेको जानकारी दिँदै उनले सरकारबाट पूर्वाधार क्षेत्रलाई उच्च प्राथमिकता दिइरहेको अवस्थामा निर्माण व्यवसायीले पनि जिम्मेवारीबोधका साथ काम गर्नुपर्नेमा जोड दिए ।

‘सरकारले पूर्वाधार क्षेत्रलाई उच्च महत्व दिई सोहीअनुसार निर्णय गरिरहेको छ । अब निर्माण व्यवसायीले पनि आफ्नो जिम्मेवारीबोध गर्दै गुणस्तरीय र समयमै कार्यसम्पादन गर्नुपर्छ,’ उनले भने ।

पन्तले महासंघको वर्तमान नेतृत्वले परम्परागत कार्यशैली परिवर्तन गर्दै महासंघलाई प्रविधिमैत्री, पारदर्शी, उत्तरदायी र आधुनिक संस्थाका रूपमा रूपान्तरण गर्ने अभियान अघि बढाएको बताए ।

डिजिटल प्रणालीको विस्तार, अनलाइन सेवाको प्रवर्द्धन, सूचना प्रविधिको प्रभावकारी प्रयोग तथा संस्थागत सुशासनलाई प्राथमिकतामा राख्दै महासंघलाई समयानुकूल र परिणाममुखी संस्थाका रूपमा स्थापित गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष बलिभद्र रानाको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रमा बोल्ने अन्य वक्ताले निर्माण व्यवसायी र सरकारबीचको सहकार्यबाट मुलुकलाई छिट्टै समृद्ध बनाउन सकिने धारणा राखेका थिए ।

कार्यक्रममा निर्माण उद्योगमा योगदान पुर्‍याउने विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।


Read Previous

पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन बलियो कानुन आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

Read Next

वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः शुरू, बाँकी संरचना हटाउन थालियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar