
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले संशोधन गरेको विधान जिल्ला प्रशासन कार्यालयबाट आधिकारिक रूपमा प्रमाणीकरण भएपछि नयाँ व्यवस्था कार्यान्वयनमा आएको छ।
इप्पानको २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनले पारित गरेको विधान संशोधनमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था हटाइएको थियो। उक्त संशोधनले कानुनी मान्यता पाएसँगै संस्थाले नयाँ विधानअनुसार आफ्नो संगठनात्मक संरचना अघि बढाउने भएको छ।
नयाँ विधानले कार्यसमितिको आकार, पदाधिकारीको संरचना, योग्यताको मापदण्ड तथा संस्थागत व्यवस्थापनमा विभिन्न परिवर्तन गरेको छ। यसअनुसार अब इप्पानको कार्यसमिति २५ सदस्यबाट विस्तार भएर ३७ सदस्यीय बनेको छ।
संशोधित व्यवस्थाअनुसार कार्यसमितिमा अध्यक्ष, निवर्तमान अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, सात उपाध्यक्ष (कम्तीमा एक महिला), महासचिव, उपमहासचिव, सात सचिव (कम्तीमा एक महिला), कोषाध्यक्ष तथा ११ खुला सदस्य रहनेछन्। खुला सदस्यमध्ये न्यूनतम चार जना महिला अनिवार्य रहने प्रावधान राखिएको छ।
यसबाहेक, एसोसिएट सदस्य र युवा उद्यमी समूहबाट एक–एक प्रतिनिधिलाई कार्यसमितिमा समावेश गर्ने व्यवस्था पनि गरिएको छ। ती प्रतिनिधिको नियुक्ति अध्यक्षले गर्ने र त्यसबारे कार्यसमिति बैठकमा जानकारी गराउनुपर्ने उल्लेख गरिएको छ।
अध्यक्ष मोहन डाँगी हुन् ।

उपाध्यक्षहरूमा उत्तमकुमार श्रेष्ठ, नरेन्द्र वल्लभ पन्त, विक्रम विष्ट, सुसन कर्माचार्य र हिमप्रसाद पाठक छन् । वार्षिक साधारणसभाबाट पारित नयाँ संशोधित विधान अनुसार उपाध्यक्षमा बलराम खतिवडा र प्रकाशचन्द्र दुलाललाई थप गरी सात उपाध्यक्ष पुर्याइएको छ ।
महासचिवमा टेकनाथ आचार्य (टी.एन. आचार्य) तथा उपमहासचिवमा कविता पोखरेल निर्वाचित भएका छन् ।
त्यसैगरी सचिव पदमा अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, कुँवरमणि नेपाल, विजयमोहन भट्टराई र सुमनकुमारी जोशी चयन भएका छन् । नयाँ संशोधित विधान अनुसार सचिवमा कृष्ण घिमिरे र दीपक पोडेललाई थप गरी सात सचिव पुर्याइएको छ ।
कोषाध्यक्षमा शंकर बस्याल छन् भने सदस्यहरुमा अनुप आचार्य, कदम केसी, जगदिश सिवाकोटी, जगतबहादुर पोखरेल, ज्योति गैरे, नारायण कंडेल, प्रतिमा ज्ञवाली, मिलन खड्का, संगीता धमला र वर्णन लामिछाने निर्वाचित भएका छन् । संशोधित विधान जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत भएपछि लागू हुने गरी स्थायी आमन्त्रित सदस्यको रुपमा इन्दिरा पन्त, नारायण खनाल, बाबुराम थापा, सन्तोष नेपाल र सोमनाथ कँडेल छन् ।
