
टेलिकमले पछिल्लो पटक डोल्पाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र कागकोटमा सञ्चालनमा ल्याएको फोरजी सेवाको नेटवर्क। सांकेतिक रूपमा प्रयोग गरिएको फाइल तस्बीर ।
काठमाडौं। नेपाल टेलिकमले मुगु र बाजुराका अत्यन्त दुर्गम हिमाली क्षेत्रमा फोरजी सेवा विस्तार गर्दै मुगुको सोरु गाउँपालिका-६ सोरुकोट तथा बाजुराको हिमाली गाउँपालिका-१ बिच्छ्याको नेटा र वडा नम्बर ५ कुवाडी क्षेत्रमा फोरजी सेवा सञ्चालनमा ल्याएको छ।
मुगुको सोरुकोटमा फोरजी सेवा शुभारम्भसँगै आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरकारी निकायका प्रतिनिधि, नेपाल टेलिकमका प्राविधिक कर्मचारी तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाही र उपाध्यक्ष केशरबहादुर शाहीले दुर्गम क्षेत्रमा आधुनिक दूरसञ्चार सेवा विस्तार हुनु स्थानीय नागरिकका लागि ऐतिहासिक उपलब्धि भएको बताए। उनीहरूले सेवाको दिगो सञ्चालन, संरक्षण तथा आवश्यकताअनुसार क्षमता विस्तारका लागि गाउँपालिकाले आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
नेपाल टेलिकमका अनुसार बाजुराको बिच्छ्याको नेटामा जडान गरिएको फोरजी टावरबाट कोट, नेटा, बाम, बौडी, यौना, नातीखोलालगायतका बस्ती तथा बाजुराबाट रानिसैन पुग्ने पदमार्गसम्म सेवा पुगेको छ। त्यस्तै, कुवाडी क्षेत्रमा सञ्चालनमा आएको फोरजी सेवाले कुवाडी खोलाको संगम आसपासका गाउँ र हुम्लाको ताँजाकोट-२ जाने मार्गलाई समेत समेटेको छ।
फोरजी सेवा सञ्चालनमा आएपछि स्थानीयवासीले उच्च गतिको मोबाइल इन्टरनेट, गुणस्तरीय भ्वाइस कल तथा एसएमएस सेवाको सुविधा सहज रूपमा प्राप्त गर्न सक्ने भएका छन्। यसबाट सूचना, शिक्षा, स्वास्थ्य तथा सरकारी सेवामा पहुँच विस्तार हुनुका साथै स्थानीय आर्थिक र सामाजिक विकासमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।
नेपाल टेलिकमले ‘राष्ट्रको सञ्चार’को आफ्नो दायित्वअनुसार देशका सुगमदेखि अति दुर्गम क्षेत्रसम्म अत्याधुनिक दूरसञ्चार सेवा र सूचना प्रविधिको पहुँच विस्तार गर्ने अभियानलाई निरन्तरता दिएको जनाएको छ।
