
काठमाडौं, ३० असार । चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब ८० करोड रुपैयाँ बराबरको रेमिट्यान्स (विप्रेषण) भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३८.२ प्रतिशतले वृद्धि भएको हो।
गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १६.९ प्रतिशतले बढेको थियो। यस वर्ष भने विदेशमा कार्यरत नेपालीबाट आउने विप्रेषण उल्लेख्य रूपमा बढेसँगै रेमिट्यान्सले नयाँ उचाइ कायम गरेको राष्ट्र बैंकले जनाएको छ।
प्रतिवेदनअनुसार जेठ महिनामा मात्रै दुई खर्ब तीन अर्ब ८९ करोड रुपैयाँ बराबरको रेमिट्यान्स नेपाल भित्रिएको छ। अघिल्लो आर्थिक वर्षको जेठमा भने एक खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो। यसले एक वर्षको अवधिमा मासिक रेमिट्यान्स आप्रवाहमा पनि उल्लेखनीय वृद्धि भएको देखाएको छ।
अमेरिकी डलरमा हेर्दा पनि रेमिट्यान्स आप्रवाहमा उच्च वृद्धि देखिएको छ। समीक्षा अवधिमा १४ अर्ब ५९ करोड अमेरिकी डलर बराबरको विप्रेषण नेपाल भित्रिएको राष्ट्र बैंकले जनाएको छ। यो अघिल्लो वर्षको तुलनामा २९.६ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स १२.८ प्रतिशतले मात्रै वृद्धि भएको थियो।
नेपालको विदेशी मुद्रा सञ्चिति, बाह्य क्षेत्रको स्थायित्व र समग्र अर्थतन्त्रमा रेमिट्यान्सको महत्वपूर्ण योगदान रहँदै आएको छ। पछिल्ला महिनाहरूमा श्रम स्वीकृति लिने नेपालीको संख्या बढ्नुका साथै वैधानिक माध्यमबाट रकम पठाउने प्रवृत्ति बढेकाले रेमिट्यान्स आप्रवाहमा उल्लेख्य वृद्धि भएको विश्लेषण गरिएको छ।

