Nepal Purbadhar

सार्वजनिक यातायातका चालक र सहचालकका लागि परिचयपत्र र पोसाक अनिवार्य

फाइल तस्बीर।


धनगढी। सार्वजनिक यातायात सेवालाई थप सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यले कैलालीको धनगढीमा सार्वजनिक बसका चालक, सहचालक तथा परिचालकलाई अनिवार्य परिचयपत्र र एकरूप पोसाक (जर्सी) वितरण गरिएको छ।

सम्पूर्ण यातायात प्रालिले बिहीबार आयोजित कार्यक्रममा गाडी नम्बर उल्लेख गरिएको परिचयपत्र र एउटै पहिचान झल्किने पोसाक वितरण गर्दै अबदेखि चालक, सहचालक र परिचालकले अनिवार्य रूपमा सोही पोसाक र परिचयपत्र प्रयोग गर्ने व्यवस्था लागू गरेको जनाएको छ।

प्रालिका अनुसार यो व्यवस्थाले यात्रुलाई चालक, सहचालक र परिचालकलाई टाढैबाट सहजै चिन्ने, सही सवारीसाधन पहिचान गर्न सक्ने तथा सार्वजनिक यातायात सेवा प्रयोग गर्दा विश्वास बढ्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा बोल्दै सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पद्मराज सापकोटाले यात्रुको सहजता र सार्वजनिक यातायातप्रतिको विश्वास अभिवृद्धि गर्ने उद्देश्यले यो व्यवस्था लागू गरिएको बताए।

“परिचयपत्र र पोसाकले यात्रुलाई सही गाडी र त्यसमा कार्यरत चालक तथा सहचालक पहिचान गर्न सहज हुनेछ। यसले बसपार्कमा हुने अनावश्यक अन्योल हटाउनुका साथै विचौलियाको चलखेल नियन्त्रण गर्न पनि सहयोग पुग्ने विश्वास लिएका छौं,” उनले भने।

उनका अनुसार एकरूप पोसाकले चालक तथा सहचालकमा व्यावसायिक जिम्मेवारीको भावना बढाउने र सार्वजनिक यातायात सेवालाई थप मर्यादित तथा अनुशासित बनाउन मद्दत गर्नेछ।

“पोसाकले चालक तथा सहचालकको जिम्मेवारी बोध बढाउनुका साथै उनीहरूको पेसालाई सम्मानित र आकर्षक बनाउन पनि सहयोग पुर्‍याउँछ,” सापकोटाले बताए।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीले सार्वजनिक यातायातका चालकहरू नागरिकलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्‍याउने अग्रपङ्क्तिका सेवा प्रदायक भएकाले उनीहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए।

“चालक र सहचालकको स्पष्ट पहिचान भएपछि यात्रु तानातान गर्ने, कमिसनको प्रलोभनमा यात्रुलाई अलमल्याउने तथा अव्यवस्थित गतिविधिमा कमी आउने विश्वास गरेका छौं,” उनले भने।

उनले परिचयपत्र र पोसाकको प्रयोगले चालक तथा सहचालकको पहिचान स्पष्ट हुने भएकाले यात्रुको विश्वास बढ्ने र सार्वजनिक यातायात सेवा थप मर्यादित, अनुशासित र व्यवस्थित बन्ने धारणा व्यक्त गरे।

सम्पूर्ण यातायात प्रालिका अनुसार सार्वजनिक यातायात क्षेत्रमा व्यावसायिकता र उत्तरदायित्व बढाउने उद्देश्यले यो अभियान सुरु गरिएको हो। परिचयपत्रमा सम्बन्धित कर्मचारीको नाम, जिम्मेवारी र गाडी नम्बर उल्लेख गरिएकाले यात्रुले आवश्यक पर्दा सहज रूपमा पहिचान गर्न सक्नेछन्।

प्रालिले आगामी दिनमा चालक तथा सहचालकका लागि नियमित अभिमुखीकरण, यात्रुमैत्री व्यवहार तथा सडक सुरक्षा सम्बन्धी तालिमलाई समेत निरन्तरता दिने जनाएको छ।

कार्यक्रममा सुदूरपश्चिम यातायात प्रालिका पूर्वअध्यक्ष टेकराज जोशी, जिल्ला ट्राफिक कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक रमेशप्रसाद आचार्य, विभिन्न यातायात व्यवसायी, चालक, सहचालक तथा परिचालकको सहभागिता रहेको थियो।


Read Previous

नियमित उडान नहुँदा टरिगाउँ विमानस्थलको इन्धन डिपो संकटमा, बिक्री लगातार घट्दै

Read Next

मौद्रिक नीतिले वित्तीय स्थायित्व र निजी क्षेत्रलाई सकारात्मक सन्देश दिएको छ: सिबिफिन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar