
default
काठमाडौं। हेटौँडा-काठमाडौं सडकमा सवारी चाप बढेपछि आजदेखि साना यात्रुवाहक सवारीका लागि आउँदा र फर्किंदा फरक-फरक मार्ग प्रयोग गर्नुपर्ने भएको छ।
स्थानीय प्रशासनका अनुसार १४ सिटभन्दा कम क्षमताका सवारीसाधन हेटौँडाबाट काठमाडौं आउँदा भीमफेदी-कुलेखानी-सिस्नेरी-दक्षिणकाली मार्ग प्रयोग गर्नुपर्नेछ।
त्यस्तै, काठमाडौं-हेटौँडातर्फ जाने सवारीले फर्पिङ-फाखेल-कुलेखानी-भीमफेदी सडक प्रयोग गर्नुपर्नेछ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधनले काठमाडौं आउँदा त्रिभुवन राजपथ र हेटौँडा फर्किंदा कान्ति राजमार्ग प्रयोग गर्नुपर्नेछ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौं आवतजावत गर्ने सवारीको चाप बढेको हो।
नयाँ व्यवस्थाले वैकल्पिक सडकमा हुने सवारी जाम तथा लामो समयसम्म सवारी रोक्नुपर्ने समस्या कम हुने प्रशासनको विश्वास छ।








