
चितवन । बाढीपछि चोरी, लुटपाट तथा ठगीका घटना हुन नदिन प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ। विपद्को मौका छोपेर आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा विभिन्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
नारायणी नदीले बगाएर ल्याएको महिलाको शवबाट सुनका गहना निकाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान गरी चितवन मदनपुरका २५ वर्षीय मदन गुरुङ र ३८ वर्षीय उमेश चौधरीलाई पक्राउ गरेको छ।
त्यस्तै, धादिङको गल्छी-४, बेल्खुखोलास्थित त्रिशूली नदी किनारमा बाढीले बगाएर ल्याएको बैंकको सेफ तोडेर नगद रकम हिनामिना गरेको आरोपमा २९ जना पक्राउ परेका छन्। उनीहरूबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।
बाढीपीडितका नाममा नक्कली पोस्ट बनाएर फेसबुकमार्फत रकम असुल गर्न खोजेको आरोपमा रामेछाप गोकुलगंगा–२ का ३२ वर्षीय सृजन कार्की पनि पक्राउ परेका छन्।
विभिन्न स्थानमा सेफ फेला
धादिङको गल्छी-६, बैरेनी बजारमा सडक सफा गर्ने क्रममा बालुवा र लेदोले पुरिएको अवस्थामा १९ इन्च लम्बाइ र १६ इन्च चौडाइको बन्द सेफ फेला परेको छ। उक्त सेफ प्रहरी चौकी बैरेनीमा सुरक्षित राखिएको छ।
यसैगरी, परेवाटार-मलेखुस्थित त्रिशूली नदीको बगरमा अर्को बन्द सेफ फेला परेको छ। मलेखु खोलामा देखिएको अर्को सेफ निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले विपद्को अवस्थामा चोरी, लुटपाट तथा ठगीजस्ता गतिविधि हुन नदिन सुरक्षा निगरानी बढाएको जनाएको छ।


