Nepal Purbadhar

भोटेकोशी बाढी: ४ हजार २७० जनाको उद्धार, ४ हजार ५९९ अझै बेपत्ता

सांकेतिक रूपमा प्रयोग गरिएको, तस्बीर: नेपाल फोटो लाइब्रेरी।


काठमाडौं। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी सम्पर्कविहीन भएकामध्ये हालसम्म ४ हजार २७० जनाको उद्धार गरिएको छ भने ४ हजार ५९९ जना अझै बेपत्ता रहेको नेपाल प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार नेपाल प्रहरी, अन्य सुरक्षा निकाय तथा विभिन्न पक्षबाट गरी १२ हजारभन्दा बढी बाढी प्रभावितको उद्धार भइसकेको छ।

प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार उद्धार गरिएकामध्ये ३ हजार ३ पुरुष, १ हजार २५४ महिला र पहिचान नखुलेका १३ जना रहेका छन्।

उद्धार गरिएकामध्ये ३ हजार ४५३ जनालाई होल्डिङ सेन्टरमा राखिएको प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिएका छन्। उनका अनुसार नुवाकोटमा २ हजार ४६६, धादिङमा २६०, रसुवामा ३९८ र काठमाडौँमा ३२९ जना होल्डिङ सेन्टरमा रहेका छन्।

१ हजार १० शव फेला

बाढीमा परी ज्यान गुमाएका ५८१ जनाको शव जमिनमा गाडेर व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। व्यवस्थापन गरिएका शवमा १२१ महिला, १९८ पुरुष र पहिचान नखुलेका २६२ जना छन्। त्यस्तै, ५६ शव परिवार तथा आफन्तलाई हस्तान्तरण गरिएको छ।

प्रहरी प्रवक्ता काफ्लेका अनुसार हालसम्म १ हजार १० जनाको शव फेला परेको छ। फेला परेका शवमध्ये ३० बालक, ३५ बालिका, २०९ महिला, ३८५ पुरुष र ३५१ जना आंशिक अङ्गसहितका रहेका छन्।

शवको पहिचान तथा व्यवस्थापनको कामसँगै बेपत्ताको विवरण संकलन गर्ने काम पनि भइरहेको प्रहरीले जनाएको छ।

४ हजार ५९९ अझै बेपत्ता

प्रहरीका अनुसार हालसम्म २ हजार ३१२ पुरुष र ३६८ महिला गरी २ हजार ९८० नेपाली, २५१ पुरुष र ३३० महिला गरी ५८१ विदेशी तथा फोनमार्फत टिपाइएका १ हजार ३२९ जना बेपत्ता सूचीमा छन्।

उल्लेख्य सङ्ख्यामा मानिस अझै सम्पर्कविहीन रहेकाले खोजी तथा उद्धारलाई थप प्राथमिकता दिँदै सुरक्षाकर्मीसहित सरकारी संयन्त्र परिचालन गरिएको प्रहरीले जनाएको छ।

भोटेकोशीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। प्रभावित क्षेत्रमा खोजी, उद्धार, शव व्यवस्थापन, राहत वितरण तथा बेपत्ताको विवरण संकलनलाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ।


Read Previous

भोटेकोशी बाढी अपडेट: करिब १२ हजारको उद्धार, ९८७ जनाको शव फेला

Read Next

भोटेकोशी बाढी: मंगलबारसम्म ७ हजार ९९२ प्रहरी परिचालन, कसरी भइरहेको छ काम?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar