
काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न नियुक्ति, नीतिगत निर्णय तथा कानुनी प्रस्तावसँग सम्बन्धित १० महत्वपूर्ण निर्णय गरेको छ।
सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार मन्त्रिपरिषद्ले गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावललाई नियुक्त गर्ने निर्णय गरेको छ। यस्तै, सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगानालाई नियुक्त गरिएको छ।
बैठकले नेपाल प्रहरीका आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गर्ने निर्णय पनि गरेको छ।
यसैगरी, संयुक्त राष्ट्रसंघको समुद्री कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका सामुद्रिक जैविक विविधताको संरक्षण तथा दिगो उपयोगसम्बन्धी (बीबीएनजे) सम्झौता अनुमोदनका लागि संघीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय गरिएको छ।
मन्त्रिपरिषद्ले शिक्षा (दसौँ संशोधन) नियमावली, २०८३, राष्ट्रिय सदाचार नीति, २०८३ र राष्ट्रिय विज्ञापन नीति, २०८३ पनि स्वीकृत गरेको छ।
यस्तै, अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन तथा खारेज गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति प्रदान गरिएको छ।
बैठकले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धनकुटाका धर्मराज खड्कालाई नियुक्त गर्ने निर्णय गरेको छ।
त्यसैगरी, कमैया श्रम (निषेध गर्ने) सम्बन्धी (पहिलो संशोधन) नियमावली, २०८३ पनि मन्त्रिपरिषद्बाट स्वीकृत भएको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिए।

