Nepal Purbadhar

एमसिए-नेपालद्वारा दुई नयाँ सबस्टेशन र २९७ किमि प्रसारण लाइन निर्माण शुरू


नुवाकोट। मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल)ले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) नेपाल कम्प्याक्टअन्तर्गत रातमाटे र न्यू दमौली सबस्टेशन तथा २९७ किलोमिटर लामो विद्युत् प्रसारण लाइन निर्माण कार्यको औपचारिक शुभारम्भ गरेको छ।

संयुक्त राज्य अमेरिकाको ५५ करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारको १९ करोड ७० लाख अमेरिकी डलर लगानीमा सञ्चालित यो परियोजना नेपालको विद्युत् प्रसारण पूर्वाधार विस्तारका लागि महत्वपूर्ण मानिएको छ। परियोजनाअन्तर्गत अन्तरराष्ट्रियस्तरको प्रसारण पूर्वाधार निर्माणसँगै सडक सञ्जाल स्तरोन्नतिको कामसमेत भइरहेको छ।

कार्यक्रममा नेपाल सरकारका उच्च अधिकारी, एमसिसी तथा अमेरिकी दूतावासका प्रतिनिधि, विकास साझेदार, निर्माण कम्पनीका प्रतिनिधि तथा स्थानीय सरोकारवालाको सहभागिता रहेको थियो।

एमसिसी नेपाल कम्प्याक्टअन्तर्गत तीन वटा ४०० केभी क्षमताका उच्च भोल्टेज सबस्टेशन र ३१५ किलोमिटर प्रसारण लाइन निर्माण गर्ने योजना छ। यसले राष्ट्रिय विद्युत् प्रसारण प्रणालीलाई थप सुदृढ बनाउने, प्रसारण अवरोध घटाउने तथा घरपरिवार र उद्योग–व्यवसायमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्ने अपेक्षा गरिएको छ। साथै, क्षेत्रीय विद्युत् व्यापारमा नेपालको सहभागिता विस्तार गर्न पनि यस पूर्वाधारले सहयोग पुर्‍याउने विश्वास लिइएको छ।

शुभारम्भ गरिएको २९७ किलोमिटर प्रसारण लाइनअन्तर्गत लप्सीफेदी–रातमाटे–न्यू हेटौँडा, रातमाटे–न्यू दमौली तथा न्यू दमौली–न्यू बुटवल खण्ड समावेश छन्।

नेपाल सरकारका अर्थ सचिव तथा एमसिए–नेपाल सञ्चालक समितिका अध्यक्ष डा. घनश्याम उपाध्यायले विद्युत् प्रसारण पूर्वाधारमा गरिएको लगानीलाई नेपालको आर्थिक भविष्यसँग जोडिएको महत्वपूर्ण कदमको रूपमा व्याख्या गरे। ऊर्जा सुरक्षा, औद्योगिक विस्तार तथा ऊर्जा क्षेत्रको पूर्ण सम्भावना उपयोग गर्न प्रसारण प्रणालीको सुदृढीकरण अपरिहार्य रहेको उनले बताए।

नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले एमसिसी नेपाल कम्प्याक्टलाई नेपालको ऊर्जा भविष्य निर्माण गर्ने आधारभूत परियोजनाका रूपमा उल्लेख गर्दै यसबाट घरपरिवार, कृषि, उद्योग तथा व्यवसाय क्षेत्रले प्रत्यक्ष लाभ पाउने बताए। उनका अनुसार परियोजना सम्पन्न भएपछि देशभित्र मात्र नभई सीमापार विद्युत् प्रवाहका लागि समेत आवश्यक पूर्वाधार तयार हुनेछ।

एमसिसीका आवासीय राष्ट्रिय निर्देशक डायन फ्रान्सिस्कोले परियोजनाले नेपालको ऊर्जा क्षेत्रको दीर्घकालीन विकास, आर्थिक वृद्धि तथा क्षेत्रीय ऊर्जा एकीकरणलाई नयाँ गति दिने विश्वास व्यक्त गरे।

नेपाल विद्युत् प्राधिकरणका कार्यवाहक कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले निर्माणाधीन सबस्टेशन र प्रसारण लाइनलाई राष्ट्रिय प्रसारण सञ्जालको महत्वपूर्ण विस्तारका रूपमा वर्णन गरे।

एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले यो परियोजनाले नेपालको ऊर्जा पूर्वाधार विकासमा नयाँ अध्याय शुरू गरेको उल्लेख गर्दै निर्माणाधीन प्रसारण सञ्जालले दीर्घकालसम्म देशलाई लाभ पुर्‍याउने बताए। उनले यसले विद्युत् प्रसारण अवरोध न्यूनीकरण गर्नुका साथै क्षेत्रीय ऊर्जा बजारमा नेपालको भूमिका सुदृढ बनाउने बताए।

परियोजनाअन्तर्गत टेक्नो इलेक्ट्रिक एण्ड इन्जिनियरिङ कम्पनी लिमिटेडले रातमाटे र न्यू दमौली सबस्टेशन निर्माण गरिरहेको छ। यस्तै, आशिष–बोझ्लर संयुक्त उपक्रमले ११७ किलोमिटर लामो लप्सीफेदी–रातमाटे–न्यू हेटौँडा खण्ड, एञ्जेलिक–स्किपर संयुक्त उपक्रमले ९० किलोमिटर लामो रातमाटे–न्यू दमौली खण्ड तथा वाइबा–सालसर संयुक्त उपक्रमले ९० किलोमिटर लामो न्यू दमौली–न्यू बुटवल खण्ड निर्माण गरिरहेका छन्।

निर्माण सम्पन्न भएपछि रातमाटे र न्यू दमौली सबस्टेशन नेपालकै सबैभन्दा ठूला उच्च भोल्टेज क्षमताका सबस्टेशनमध्ये पर्नेछन्। यी पूर्वाधारले विद्युत् प्रसारण सञ्जाललाई थप मजबुत बनाउँदै बढ्दो ऊर्जा माग व्यवस्थापन र आर्थिक विकासलाई टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।


Read Previous

ज्यान मार्ने धम्की’ प्रकरणमा खुश्बु ओलीलाई गृहमन्त्री गुरुङको आश्वासन : “प्रक्रियामा जानुहोस्, कारबाही अघि बढ्छ”

Read Next

नापी सेवाको राजस्व अब ‘मेरो कित्ता’मार्फत तिर्नुपर्ने, राष्ट्र बैंकको नयाँ निर्देशन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar