Nepal Purbadhar

विश्व वातावरण दिवसमा इन्टरनेट कम्पनी वर्ल्डलिङ्कद्वारा मञ्जुश्री पार्कमा वृक्षारोपण


काठमाडौं। विश्व वातावरण दिवसको अवसरमा वर्ल्डलिङ्क कम्युनिकेशन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत मञ्जुश्री पार्क परिसरमा वृक्षारोपण गरेको छ।

पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरूको प्राविधिक सहयोग, जलविनायक सामुदायिक वन उपभोक्ता समूह तथा प्रगतिशील युवा समूहको सहकार्यमा सम्पन्न कार्यक्रममा स्थानीय समुदाय, युवा, विद्यार्थी, सामुदायिक वनका प्रतिनिधि तथा वर्ल्डलिङ्कका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमअन्तर्गत मञ्जुश्री पार्क क्षेत्रमा धुपी तथा विभिन्न फलफूल प्रजातिका बिरुवा रोपिएका छन्। वर्ल्डलिङ्क कम्युनिकेशन्सकी सीएसआर निर्देशक तथा प्रमोटर शेयरधनी अनुपा भण्डारी जालानले उक्त वृक्षारोपणले सामुदायिक वन संरक्षण, हरियाली प्रवर्द्धन तथा मञ्जुश्री पार्कको वातावरणीय सौन्दर्य अभिवृद्धिमा योगदान पुग्ने विश्वास व्यक्त गरिन्।

उनले स्थानीय समुदाय र सामुदायिक वनको आवश्यकता पहिचान गरी वृक्षारोपण गरिएको बताउँदै वर्ल्डलिङ्कले विगत केही वर्षदेखि देशका विभिन्न धार्मिक तथा ऐतिहासिक क्षेत्रमा वातावरण संरक्षण र वृक्षारोपण कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिइन्।

भण्डारी जालानले वातावरण संरक्षण कुनै एक दिनमा सीमित विषय नभई जीवनशैली, सामाजिक उत्तरदायित्व र भावी पुस्तासँग जोडिएको साझा दायित्व भएको उल्लेख गरिन्। दिगो विकास र स्वच्छ वातावरण निर्माणका लागि निजी क्षेत्र, स्थानीय समुदाय र युवाबीचको सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

जलविनायक सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दीपक महर्जनले यस्ता कार्यक्रमले वन संरक्षण, जैविक विविधताको प्रवर्द्धन तथा वातावरणीय चेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले सामुदायिक वन र निजी क्षेत्रबीचको सहकार्यको उत्कृष्ट उदाहरणका रूपमा यस कार्यक्रमलाई व्याख्या गरे।

विश्व वातावरण दिवसको अवसरमा आयोजित उक्त कार्यक्रमले वातावरण संरक्षणका लागि सबै क्षेत्रको साझा प्रयास र सहकार्य आवश्यक रहेको सन्देश दिएको आयोजकले जनाएको छ।

वर्ल्डलिङ्कले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत देशका विभिन्न स्थानमा शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण, वृक्षारोपण, सामुदायिक वन संरक्षण, मानसिक स्वास्थ्य सचेतना, दुर्गम क्षेत्रमा अनलाइन शिक्षा, स्वास्थ्य संस्थामा सौर्य ऊर्जा जडान, सुरक्षित इन्टरनेटसम्बन्धी जनचेतना तथा युवाको डिजिटल क्षमता अभिवृद्धिजस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ।


Read Previous

प्राकृतिक सौन्दर्यले लोभ्याउँदै अर्घाखाँचीको ‘रक गार्डेन’

Read Next

विद्युतीय सवारीसाधनको ५० वर्से नेपाली इतिहास, ट्रलीबस देखि लक्जरी कार र बससम्म

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar