
आगामी विश्वकपमा सहभागि हुने इरानी फसटबल टिम।
तेहरान। सन् २०२६ को फिफा विश्वकपको तयारी चलिरहेका बेला इरान र अमेरिकाबीच नयाँ विवाद उत्पन्न भएको छ। इरानी फुटबल महासंघले राष्ट्रिय टोलीका केही वरिष्ठ व्यवस्थापकीय तथा कार्यकारी अधिकारीलाई अमेरिकी भिसा नदिएको भन्दै अमेरिकी सरकारको कडा आलोचना गरेको छ।
महासंघले जारी गरेको वक्तव्यमा अमेरिकी कदमलाई खेलभावनाविपरीत, राजनीतिक प्रेरित तथा अन्तर्राष्ट्रिय खेलकुद कानुनको मर्मविपरीत रहेको उल्लेख गरिएको छ। राष्ट्रिय टोलीको तयारी, व्यवस्थापन तथा समन्वयमा संलग्न अधिकारीहरूलाई प्रतियोगिताको पूर्वतयारीका लागि यात्रा अनुमति आवश्यक रहेको महासंघको भनाइ छ।
इरानले यस विषयमा अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को ध्यानाकर्षण गराएको जनाएको छ। प्रतियोगितामा सहभागी टोलीका आवश्यक प्राविधिक तथा प्रशासनिक सदस्यहरूको आवागमन सुनिश्चित गराउने जिम्मेवारी आयोजक राष्ट्रसँगै फिफाको पनि हुने इरानी पक्षले बताएको छ।
इरानी सञ्चारमाध्यमहरूका अनुसार भिसा नपाउने व्यक्तिहरूमा इरान फुटबल महासंघका अध्यक्ष, महासचिव, राष्ट्रिय टोलीका कार्यकारी निर्देशक तथा सञ्चार निर्देशक रहेका छन्। उनीहरू टोलीको प्रशासनिक र व्यवस्थापकीय कार्यमा प्रमुख जिम्मेवारी निर्वाह गर्ने अधिकारी हुन्।
यद्यपि अमेरिकी पक्षले इरानी राष्ट्रिय टोलीका खेलाडीहरूको भिसा प्रक्रिया भने पूरा भएको जनाएको छ। टर्कीस्थित अमेरिकी राजदूतले सामाजिक सञ्जालमार्फत इरानी खेलाडीहरूको भिसा प्रक्रिया सम्पन्न गर्न अमेरिकी दूतावासले गरेको कामको प्रशंसा गर्दै खेलकुदले विश्वलाई जोड्ने माध्यमका रूपमा भूमिका खेल्ने उल्लेख गरेका छन्। उनले विश्वकपमा सहभागी खेलाडी तथा समर्थकहरूलाई स्वागत गर्न अमेरिका तयार रहेको पनि बताएका छन्।
अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्ने सन् २०२६ को फिफा विश्वकप आगामी जुन ११ देखि जुलाई १९ सम्म सञ्चालन हुनेछ। इरान समूह ‘जी’ मा रहेको छ। इरानले जुन १५ मा लस एन्जलसमा न्युजिल्यान्डविरुद्ध पहिलो खेल खेल्नेछ। त्यसपछि जुन २१ मा बेल्जियमसँग र जुन २६ मा सियाटलमा इजिप्टविरुद्ध प्रतिस्पर्धा गर्ने तालिका रहेको छ।
विश्वकपको तयारीका बीच देखिएको यो भिसा विवादले खेलकुद र कूटनीतिक सम्बन्धबीचको जटिल सम्बन्धलाई पुनः चर्चामा ल्याएको छ। इरानले अन्तर्राष्ट्रिय खेलकुद निकायहरूसँग यस विषयमा हस्तक्षेप र समाधानका लागि पहल गर्न आग्रह गरेको छ।
यो पनि हेर्नुहोस्: विश्वकप नजिक इरानलाई अमेरिकी भिसाको डर, फिफाले बहुप्रवेशी भिसा उपलब्ध गराउने आशा
