
अर्घाखाँची। अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–११ डिभर्नामा रहेको ‘रक गार्डेन’ पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। प्रकृतिले आफैँ निर्माण गरेको जस्तो देखिने विशाल चट्टान, ढुङ्गाले भरिएको अनौठो भू–आकृति, शान्त वातावरण र मनोरम दृश्यावलोकनका कारण यो क्षेत्र जिल्लाको नयाँ पर्यटकीय गन्तव्यका रूपमा परिचित हुन थालेको हो।
सन्धिखर्क बजारबाट करिब २० मिनेटको सवारी यात्रापछि पुग्न सकिने रक गार्डेनमा दैनिक रूपमा आन्तरिक पर्यटकको आगमन बढ्दै गएको स्थानीयवासी बताउँछन्। सयौँ रोपनी क्षेत्रफलमा फैलिएको यस स्थानका चट्टानहरू प्राकृतिक कलाकृतिजस्तै देखिने भएकाले पहिलो पटक पुग्ने आगन्तुकहरू समेत आश्चर्यचकित हुने गरेका छन्।
स्थानीय तहका अनुसार पछिल्लो समय प्रचारप्रसार बढेसँगै रक गार्डेनको लोकप्रियता बढेको छ। पर्यटकको सुविधाका लागि शौचालय, विश्रामस्थल तथा मन्दिर निर्माण गरिनुका साथै थप पूर्वाधार विकासका कामहरू पनि अगाडि बढाइएको छ।
रक गार्डेनबाट सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका, मालारानी, पाणिनी र छत्रदेव गाउँपालिकाका विभिन्न भूभागसँगै पाल्पा र प्युठानका केही क्षेत्रसमेत अवलोकन गर्न सकिन्छ। यही विशेषताले पनि पर्यटकलाई आकर्षित गरिरहेको छ।
स्थानीय व्यवसायीहरूका अनुसार लुम्बिनी, सुपा देउराली, अर्घा भगवती तथा अन्य धार्मिक गन्तव्यसँग रक गार्डेनलाई जोडेर पर्यटन प्रवर्द्धन गर्न सके जिल्लाको आर्थिक गतिविधिमा उल्लेखनीय वृद्धि हुने सम्भावना छ। यसबाट होटल, यातायात, व्यापार तथा अन्य सेवा क्षेत्रले प्रत्यक्ष लाभ लिन सक्ने विश्वास गरिएको छ।
प्राकृतिक सौन्दर्य, स्वच्छ वातावरण र विशिष्ट भू–संरचनाले भरिएको रक गार्डेन अर्घाखाँचीको पर्यटन क्षेत्रको नयाँ पहिचान बन्दै गएको छ। संरक्षण, प्रचारप्रसार र पूर्वाधार विकासमा थप ध्यान दिन सके यो क्षेत्र प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुन सक्ने स्थानीयको विश्वास छ।
