
पोखरा। पोखरा महानगरपालिकाले फिर्के खोला अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने अभियान शुरू गरेको छ। महानगरले ३५ दिने सार्वजनिक सूचना जारी गरेर दिएको समयसीमा सकिएपछि आइतबारदेखि खोलाघर खाली गराउने अभियान अघि बढाएको हो।
महानगरपालिकाका अनुसार वर्षायाममा बाढी तथा डुबानको जोखिम बढ्दै गएको अवस्थालाई ध्यानमा राख्दै खोला संरक्षण र प्राकृतिक बहाव कायम राख्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।
अभियानअन्तर्गत तीन स्थानबाट एकैसाथ खोलाघर खाली गर्ने काम शुरू गरिएको छ। पोखरा–२ र १८ को सिमाना अन्धेरिकुनादेखि वडा नं ४ तर्फ, पोखरा–४ र ५ को सिमानास्थित फिर्केपुल–बूढानीलकण्ठ मन्दिर क्षेत्रदेखि वडा नं ५ र ८ तर्फ तथा पोखरा–७ र ८ को सिमानास्थित जिरो किलोमिटरको लायन्स भवन क्षेत्रदेखि वडा नं ६ तर्फ अभियान सञ्चालन भइरहेको महानगरले जनाएको छ।
संरचना हटाउन एक्साभेटर, जेसीबी र टिपर परिचालन गरिएको छ। बिहान १० बजेदेखि साँझ ५ बजेसम्म धनराज आचार्य नेतृत्वमा सम्बन्धित वडाका अध्यक्ष तथा जनप्रतिनिधिको सहभागितामा काम भइरहेको जनाइएको छ।
अभियानको शुभारम्भ जिरो किलोमिटर क्षेत्रबाट गरिएको हो। महानगर प्रमुख आचार्य स्वयं फिल्डमा उपस्थित भएर अनुगमन तथा नेतृत्व गरिरहेका छन्।









तस्बिर : अर्जुन गाहा / नेपाल फोटो लाइब्रेरी

