
१० वर्षमा सातौँ प्रधानमन्त्री पाउँदै बेलायत, एन्डी बर्नह्यामले सम्हाल्दै नेतृत्व
बेलायत । बेलायतको सत्तारूढ लेबर पार्टीले शुक्रबार विशेष सम्मेलनमार्फत अनुभवी राजनीतिज्ञ एन्डी बर्नह्यामलाई पार्टीको नयाँ नेता चयन गर्दै देशको आगामी प्रधानमन्त्रीका रूपमा औपचारिक रूपमा पुष्टि गर्ने भएको छ। संसद्मा लेबर पार्टीको स्पष्ट बहुमत रहेकाले उहाँले सोमबार १० डाउनिङ स्ट्रिटमा किर स्टारमरको स्थान ग्रहण गर्दै प्रधानमन्त्री पद सम्हाल्ने तयारी गर्नुभएको छ।
५६ वर्षीय बर्नह्याम पछिल्लो १० वर्षमा बेलायतको सातौँ प्रधानमन्त्री बन्न लाग्नुभएको हो। सांसदका रूपमा नौ वर्षपछि पुनरागमन गरेको चार सातामै उहाँ देशको सर्वोच्च कार्यकारी पदमा पुग्न लाग्नुभएको हो। लेबर नेतृत्वका लागि उहाँविरुद्ध कसैले उम्मेदवारी नदिएपछि उहाँ निर्विरोध रूपमा पार्टीको नेता चयन हुनुभएको हो।
ग्रेटर म्यानचेस्टरका लगातार तीन कार्यकालका मेयर रहनुभएका बर्नह्यामलाई ‘उत्तरका राजा’ (King of the North) भन्ने उपनामले पनि चिनिन्छ। यसअघि सन् २०१० र २०१५ मा लेबर पार्टीको नेतृत्वका लागि गरिएको प्रतिस्पर्धामा उहाँ क्रमशः एड मिलिब्यान्ड र जेरेमी कोर्बिनसँग पराजित हुनुभएको थियो। तेस्रो प्रयासमा भने उहाँ पार्टीको नेतृत्वमा पुग्न सफल हुनुभएको हो।
सन् २००१ देखि २०१७ सम्म सांसद तथा विभिन्न मन्त्रालयमा मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका बर्नह्याम पछिल्ला वर्षहरूमा जनमुखी नेताका रूपमा स्थापित हुनुभएको छ। सामाजिक सञ्जालको प्रभावकारी प्रयोग, सहज प्रस्तुति र सर्वसाधारणसँग प्रत्यक्ष संवाद गर्ने शैलीका कारण उहाँले व्यापक लोकप्रियता हासिल गर्नुभएको मानिन्छ।
लेबर सांसदहरूले बर्नह्यामले किर स्टारमरभन्दा प्रभावकारी रूपमा जनतासँग संवाद गर्न सक्ने, जर्जर सार्वजनिक सेवामा सुधार ल्याउन सक्ने तथा सुस्त अर्थतन्त्रलाई पुनर्जीवित गर्न साहसी नीति अघि बढाउने अपेक्षा गरेका छन्। पूर्वफुटबलर ग्यारी लिनेकरसँगको एक पोडकास्टमा बर्नह्यामले देशलाई आशा र आत्मविश्वासको नयाँ अनुभूति दिलाउनुपर्ने आवश्यकता औँल्याउँदै बेलायत सही दिशातर्फ अघि बढिरहेको विश्वास जनतामा जगाउनुपर्ने बताउनुभएको थियो।
सन् २०२९ मा हुने अपेक्षित आमनिर्वाचनअघि नाइजेल फराज नेतृत्वको रिफर्म युके पार्टीको बढ्दो प्रभाव रोक्न पनि बर्नह्याम नै लेबरका लागि सबैभन्दा बलियो विकल्प भएको पार्टीभित्र विश्वास गरिएको छ।
किर स्टारमरले जुलाई २०२४ मा १४ वर्षपछि लेबर पार्टीलाई सत्तामा फर्काउन सफल भए पनि त्यसपछि घरेलु नीतिगत विवाद, अमेरिकी राजदूत नियुक्तिसम्बन्धी निर्णय र स्थानीय निर्वाचनमा कमजोर प्रदर्शनका कारण उहाँको नेतृत्व निरन्तर दबाबमा परेको थियो। अधिकांश सांसदहरूले समर्थन फिर्ता लिएपछि स्टारमरले गत जुन २२ मा राजीनामा घोषणा गर्नुभएको थियो।
बर्नह्यामले लेबरका ४०३ सांसदमध्ये ३७९ जनाको समर्थन प्राप्त गर्नुभएको छ। पार्टीको नरम वामपन्थी धारबाट आउनुभएका उहाँले वेस्टमिन्स्टरकेन्द्रित शासन प्रणालीलाई विकेन्द्रीकरण गर्दै बेलायतका अन्य सहर र क्षेत्रलाई अधिकार तथा स्रोतसाधन हस्तान्तरण गर्ने आफ्नो प्राथमिकता रहने बताउनुभएको छ।
यद्यपि प्रधानमन्त्रीका रूपमा उहाँले सुस्त अर्थतन्त्र, बढ्दो सरकारी ऋण, सार्वजनिक सेवा सुधार, अनियमित आप्रवासन, रिफर्म युकेको बढ्दो प्रभाव तथा अन्तर्राष्ट्रिय आर्थिक अनिश्चितताजस्ता चुनौतीको सामना गर्नुपर्नेछ। साथै राजा चार्ल्स तृतीयसँग औपचारिक भेटपछि उहाँले प्रधानमन्त्रीका रूपमा पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ।
