Nepal Purbadhar

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका सीईओ ज्योतिप्रकाश पाण्डे पक्राउ


काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले टेलिकम सेवा सञ्चालनसँग सम्बन्धित उपकरण लिलामी प्रकरणमा ज्योति प्रकाश पाण्डे विरुद्ध ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ।

सीआईबीले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमति लिएर सेवा सञ्चालन गर्दै आएको स्मार्ट टेलिकम प्रालिले समयमै अनुमति नवीकरण नगरेपछि कम्पनीको अनुमतिपत्र स्वतः खारेज भएको थियो। त्यसपछि कम्पनीको सम्पत्ति व्यवस्थापन तथा लिलामी प्रक्रियामा अनियमितता भएको आरोपमा अनुसन्धान सुरु गरिएको हो।

प्रहरीका अनुसार स्मार्ट टेलिकमसँग सम्बन्धित उपकरण, संरचना र सम्पत्ति लिलामी प्रक्रियामा नेपाल सरकारको सम्पत्तिमा हानि पुग्ने गरी कार्य गरिएको आशंकामा अनुसन्धान भइरहेको छ। यस प्रकरणमा तत्कालीन लोन रिकभरी कमिटी (एलआरसी) का अध्यक्षसमेत रहेका पाण्डेलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको ब्यूरोले जनाएको छ।

पाण्डेलाई सिन्धुलीको कमलामाई नगरपालिका क्षेत्रमा सवारी चेकजाँचका क्रममा पक्राउ गरिएको प्रहरीले उल्लेख गरेको छ।

सीआईबीका अनुसार नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लिलामी सूचना जारी गर्दा विभिन्न उपकरण जडान भएका घर–जग्गाका धनीलाई बैंकको बाँकी रकम, घरभाडा तथा विद्युत महसुलसमेत एकमुष्ट बुझाउनुपर्ने सर्त राखेको थियो। तर रकम असुल नगरी सम्पत्ति हस्तान्तरण तथा लिलामी प्रक्रिया अघि बढाइएको विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Read Previous

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँट, १ लाख ७४ हजारले पाए १० कित्ता

Read Next

विपक्षी सांसदले सभामुखलाई नियमावलीको खाली पेज देखाएपछि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar