
दोलखा। दोलखाबाट करिब तीन दशकअघि चोरी भएका ऐतिहासिक तथा धार्मिक महत्वका ‘हाथ्व’ अर्थात् आकाश भैरवका दुई बहुमूल्य मुकुट अन्ततः आफ्नै थातथलो फर्किएका छन्। अमेरिकाका दुई संग्रहालयबाट कूटनीतिक र कानुनी प्रक्रियामार्फत स्वदेश फिर्ता गरिएका मल्लकालीन मुकुटहरू बिहीबार परम्परागत धार्मिक विधिअनुसार दोलखामा पुनःस्थापना गरिएको हो।

राष्ट्रिय संग्रहालय, छाउनीबाट कडा सुरक्षाबीच दोलखा ल्याइएका मुकुटहरूको चरिकोटदेखि नै भव्य स्वागत गरिएको थियो। स्थानीय बासिन्दा, जनप्रतिनिधि, सुरक्षा निकाय तथा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिको सहभागितामा मुकुटहरूलाई बाजागाजा, धूप, अबिर र फूलमालासहित ऐतिहासिक दोलखा बजारसम्म नगर परिक्रमा गराइएको थियो।

३० वर्षपछि आफ्ना कुलदेवताको प्रतीक पुनः फर्किएको अवसरमा स्थानीयवासी भावुक बनेका थिए। सडकका दुवै किनारमा लामबद्ध स्थानीयले मुकुटको स्वागत गरेका थिए भने दोलखा बजार उत्सवमय बनेको थियो।

नगर परिक्रमा सम्पन्न भएपछि १६औँ शताब्दीका यी मुकुटहरूलाई गुरुकोट टोलस्थित नक्छे प्रधान खलकको कुलघरमा लगिएको थियो। परम्परागत तथा तान्त्रिक विधिअनुसार अभिषेक, स्वागत र प्राणप्रतिष्ठा पूजा सम्पन्न गरी मुकुटहरूको पुनःस्थापना गरिएको छ।

इतिहासअनुसार यी मुकुटहरू मल्लकालमा निर्मित भएका थिए। तत्कालीन दोलखाका राजा गोविन्ददेवका पाँच सन्तानबीच अंशबन्डा हुँदा मुकुटहरू नक्छे प्रधान खलकको भागमा परेका थिए। स्थानीय द्वाल्खा भाषामा ‘हाथ्व’ भनेर चिनिने यी मुकुटहरू वर्षभरि कुलघरको गोप्य कक्षमा राख्ने र इन्द्रजात्राका बेला मात्रै सर्वसाधारणलाई दर्शन गराउने परम्परा रहँदै आएको थियो।

वि.सं. २०५० र २०५१ सालमा गुरुकोटस्थित नक्छे प्रधान खलकको कुलघरबाट मुकुटहरू चोरी भएपछि दोलखाको मौलिक जात्रा तथा धार्मिक परम्परा प्रभावित बनेको थियो।

नेपालबाट हराएका सांस्कृतिक सम्पदाको खोजी गर्दै आएको ‘लस्ट आर्ट्स अफ नेपाल’ अभियानको अनुसन्धानका क्रममा एउटा मुकुट अमेरिकाको डलास म्युजियम अफ आर्ट र अर्को न्युयोर्कस्थित रुबिन म्युजियम अफ आर्टमा रहेको पत्ता लागेको थियो।

त्यसपछि पुरातत्त्व विभाग, नेपाल हेरिटेज रिकभरी क्याम्पेन, अमेरिकी अनुसन्धान निकाय तथा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको समन्वयमा मुकुट फिर्ता ल्याउने प्रक्रिया अघि बढाइएको थियो। आवश्यक प्रमाण संकलनपछि दुवै मुकुट जफत गरी नेपाल ल्याइएको थियो।

स्वदेश फर्किएपछि केही समय राष्ट्रिय संग्रहालय, छाउनीमा संरक्षणमा राखिएका मुकुटहरूलाई अन्ततः नक्छे प्रधान खलकका ज्येष्ठ पुजारी ८३ वर्षीय यज्ञकुमार प्रधानको नेतृत्वमा दोलखा पुर्याई पुनःस्थापना गरिएको हो।


तस्बिर : नेपाल फोटो लाइब्रेरी
