Nepal Purbadhar

डेडिकेटेड ट्रंकलाइन विवाद: प्राधिकरणले उद्योगीलाई बक्यौता तिर भन्दै पठायो पत्र, लाइन काट्न माग्यो ऊर्जामन्त्रीको सहमति


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता नतिरेको भन्दै उद्योगीहरुलाई तिर्न पत्राचार गरेको छ ।

पहिलो किस्ता तिरेका उद्योगीहरुलाई दोस्रो किस्ता तिर्न र दोस्रो किस्ता तिरेकाहरुलाई तेस्रो किस्ता तिर्न आउन पत्राचार गरेको हो । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले बक्यौता रहेका उद्योगीहरुलाई तिर्न आउन पत्राचार गरिएको बताए । उनले बक्यौता उठाउनकै लागि पत्राचार गरेको दाबी गरे । तर लाइन काटेर बक्यौता उठाउने भने निर्णय नभएको उनको भनाइ छ ।

शाक्यका अनुसार ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको सहमति लिएर लाइन काट्ने योजना छ । मन्त्रालयबाट सहमति आएर आफू लाइन नै काटेर अघि बढ्न तयार भएको बताए । उनले मन्त्रालयलाई पत्राचार गरेर सहमति मागेका छन् ।

जेनजी आन्दोलनपछि बनेको बालेन्द्र शाह नेतृत्वको सरकारले डेडिकेटेड फिडर तथा ट्रंकलाइनबारे केहि बोलेको छैन् ।

ऊर्जामन्त्री कुलमान घिसिङ हुँदा उनले लाइन काटेर बक्यौता उठाउन थालेका थिए ।उनले लाइन काटेपछि बक्यौता रहेका उद्योगीहरु सबैले पहिलो किस्ता तिरेका थिए भने केहि दोस्रो किस्ता समेत तिरेका थिए ।

विद्युत नियमन आयोगले डेडिकेटेड फिडर तथा ट्रंकलाइन विवाद उद्योगीको माग दाबी नपुग्ने निर्णय गरेको छ । आयोगले गरेको यस्तो निर्णयपछि प्राधिकरणलाइ बक्यौता उठाउने बाटो खुलेको हो ।

विद्युत प्राधिकरण र उद्योगीको सुनुवाईपछि उद्योगीको माग दाबी नपुग्ने निर्णय गरेको हो । केहि समय पहिले विद्युत नियमन आयोगको इजलासमा दिउँसो करिब १२ बजेदेखि साँझ झण्डै सात बजेसम्म सुनुवाई भएको थियो । सुनुवाईपछि आयोगले प्राधिकरणको पक्षमा फैसला गरेको हो । ‘‘हामीले दिनभर बहस गर्‍यौं । दुवै पक्षका कुराहरु सुन्यौ । प्राविधिक पक्ष हेर्‍यौं । टिओडी मिटरका विवरण हेर्‍यौं । यस अघिका सरकारी प्रतिवेदनहरु र लाल आयोगको प्रतिवेदन पनि हेर्‍यौं,’ आयोगका एक अधिकारीले, ‘सबै विषयहरु हेर्दा उजुरीकर्ताले गरेको माग दाबी पुगेन । प्राधिकरणलाई बक्यौता उठाउने बाटो खुल्यो । ‘

डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत आपूर्ति गरिएको विद्युत् महसुलका विषयमा विवाद उत्पन्न भएपछि केही उद्योगीहरूले नेपाल विद्युत् प्राधिकरणले निर्धारण गरेको महसुलमा असन्तुष्टि जनाउँदै आयोगमा निवेदन दिएका थिए। यस अघि आयोगले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको विवादमा उद्योगीको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरिसकेको थियो । कार्तिक अन्तिम साता बसेको इजलासले उद्योगीको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

पञ्चकन्या प्लाष्टिक इन्डस्ट्रिज प्रालि र पञ्चकन्या स्टील प्रालिले उजुरी दिएका हुन् ।

पञ्चकन्या समूहका दुई उद्योगले बक्यौताको ५ प्रतिशत धरौटी बुझाएर आयोगमा उजुरी दिएका थिए । प्राधिकरणले बक्यौता नतिरेको भन्दै लाइन काटेपछि दुई उद्योग आयोग गएका हुन् ।

नेपाल विद्युत प्राधिकरणबाट डेडिकेटेड फिडर तथा ट्रंकलाइनबाट विद्युत सप्लाइ लिएको उपभोक्तालाई बक्यौता विद्युत महसुल बुझाउने अन्यायपूर्ण निर्णय खारेज गरी क्षतिपूर्ती दिलाइ पाउ भन्दै उजुरी दिएका थिए ।

आयोगले इजलासमा बहस गरेर अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । त्यहिबेला

उद्योगी र प्राधिकरण दुवै पक्षका वकिलको साढे ५ घण्टाभन्दा बढी बहस भएको थियो । उक्त बहस आयोगका अध्यक्ष डा.रामप्रसाद धिताल र आयोगका ४ जना सदस्यहरुले सुनेपछि अन्तरिम आदेश नदिने निर्णय गरेका हुन् ।

उद्योगीका तर्फबाट बहस गर्ने वकिलहरुले प्राधिकरणले अन्यायपूर्ण रुपमा बक्यौता उठाउन खोजेको भन्दै यो निर्णय नै खारेजीको माग गरेका थिए ।

प्रचलित व्यवस्थाअनुसार यस्तो विवादको सुरुआती सुनुवाइ आयोगमै हुने व्यवस्था छ। आयोगबाट आउने निर्णयमा चित्त नबुझेको अवस्थामा मात्र सम्बन्धित पक्षलाई अदालत जाने अधिकार रहनेछ।

नेपालको ऊर्जा क्षेत्रको नियमनकारी निकायका रूपमा रहेको विद्युत् नियमन आयोगले ऊर्जा क्षेत्रमा देखिने विवादहरूको निरुपण गर्दै आएको छ। आयोगले दिने निर्णयमा चित्त नबुझेको खण्डमा मात्र सम्बन्धित पक्षलाई अदालत जाने मार्ग खुला हुने व्यवस्था रहेको छ।

उद्योगीहरुले झण्डै ७ अर्ब रुपैयाँ बक्यौता तिर्नुपर्नेछ ।

सुशासनको नारा लगाउने प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले उद्योगीसंग बक्यौता उठाउँछ वा छुट दिन्छ हेर्न बाँकी छ ।


Read Previous

बाइक-स्कुटर साटेर टियागो इभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प

Read Next

पूर्व विकास आयुक्त भाइकाजी तिवारीविरुद्ध १० करोड बढी भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar