Nepal Purbadhar

५० मेगावाटको मर्स्याङदी बेसी शुक्रबारदेखि निर्माण सुरु हुने, ३० महिनाभित्र उत्पादन थाल्ने

सांकेतिक तस्बिर


काठमाडौं । दिव्य ज्योती हाइड्रोपावर लिमिटेडले ५० मेगावाटको मर्स्याङदी वेसी जलविद्युत आयोजना निर्माण थाल्ने भएको छ । कम्पनीले यहि शुक्रबारदेखि काम सुरु गर्न लागेको हो ।


यो आयोजना दिव्यज्योति हाईड्रोपावर लिमिटेडबाट निर्माण गरिने छ । यो पब्लिक लिमिटेड कम्पनी हो । जसमा हाल सम्म १५० भन्दा बढी शेयर सदस्यहरु छन् । यो आयोजना स्वदेशि लगानीमा देश भित्र तथा बाहिर रहनुभएका नेपाली नागरिकहरुवाट स-साना पुँजी एकत्रित गरि लगानी जुटाई आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य लिई कार्य अगाडी बढाईएको छ ।

जसमा अपि पावर कम्पनी लिमिटेडको ५१ प्रतिशत तथा सो भन्दा बढी लगानी रहने छ । अपि पावर कम्पनी लिमिटेड नेपालमा जलविद्युत तथा सोलार आयोजनाहरु निर्माण गरिरहेको एक परिचित कम्पनी हो । यस कम्पनीले हाल सम्म ६ वटा जलविद्युत आयोजनाहरु तथा ४ वटा सोलार आयोजना सहित जम्मा १० भन्दा बढि आयोजना निर्माण सम्पन्न गरिसकेको छ । अपि पावर कम्पनी समूह भित्र जम्मा २२ वटा भन्दा बढि जलविद्युत तथा सोलार आयोजनाहरुको निर्माण सम्पन्न भईसकेका छन् भने यस समूहले हाल सम्म ३०० मेगावाट विद्युत राष्ट्रिय ग्रिडमा प्रवाह गरिरहेको छ । जसमा ५ भन्दा बढि कम्पनीको शेयर नेपाल धितोपत्र बोर्डमा दर्ता भई शेयरबजारमा कारोबार भईरहेको छ । अपी पावर कम्पनीमा हाल एक लाख पचास हजार सेयरधनीहरु रहेका छन् ।

यो एक राष्ट्रिय प्राथमिकताको आयोजना हो । यस आयोजनावाट उत्पादित विद्युतशक्तिले हाल देशमा रहेको उर्जा संकटलाई निरुपण गरी मुलुकको अर्थतन्त्रलाई थप मजवुत एवं सुधृडिकरण गर्न सहयोग पुर्याउनेछ । यस आयोजना निर्माणको लागि आवश्यक पर्ने ऋण स्वदेशी वाणिज्य बैकहरुबाट जुटाईने छ ।

यो आयोजना ३० महिनाको अवधि भित्र स्थानिय स्रोत, साधन तथा जनशक्तिको अधिकतम सदुपयोग गरी आयोजनाको निर्माण कार्य सम्पन्न गरिने छ ।


दिव्य ज्योति हाइड्रोपावर कम्पनी ऐन २०६३ अनुसार दर्ता भई उर्जा क्षेत्रसँग सम्बन्धित कार्य गर्दै आएको कम्पनी हो। कम्पनीले २०७५ भदौ १० मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद–बिक्री सम्झौता गरेको छ । २०७४ असोज १ मा प्राप्त वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन वन तथा वातावरण मन्त्रालयले स्वीकृत गरिसकेको छ ।

२०७६ असोज ३० मा जलश्रोत तथा सिंचाई मन्त्रालयबाट सर्वेक्षण अनुमति प्राप्त भएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार आयोजना निर्माणका क्रममा वातावरण, संस्कृति तथा पुरातात्विक पक्षहरूलाई विशेष महत्व दिइनेछ र न्यूनतम क्षति हुनेगरी निर्माण कार्य अघि बढाइनेछ।

यस आयोजनालाई प्रवाहमुखी परियोजना भएको भन्दै कम्पनीले यसलाई ७० मेगावाट क्षमताको मध्य मर्स्याङ्दी जस्तो जलाशययुक्त आयोजना नभएको स्पष्ट गरेको छ।

आयोजना सञ्चालनका लागि ७० घनमिटर पानी मात्र आवश्यक पर्ने र नदीमा वार्षिक औसत १५० घनमिटर बहाव हुने भएकाले बाँकी पानी वातावरणीय रूपमा पर्याप्त हुने विज्ञप्तिमा उल्लेख छ।

स्थानीयको सीप तथा दक्षताका आधारमा रोजगारी प्रदान गरिने तथा निर्माण प्रक्रियामा मसानघाटदेखि प्रभावित क्षेत्रसम्मका सबै सम्भावित असरलाई ध्यानमा राखेर कार्य अघि बढाइने कम्पनीले जनाएको छ। परियोजना क्षेत्रका पर्यटन, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक क्षेत्रहरूमा कुनै प्रतिकूल प्रभाव नपर्नेगरी योजना कार्यान्वयन गरिनेछ।

विद्युत उत्पादन भएपछि कम्पनीको आम्दानीको २ प्रतिशत तथा प्रति मेगावाट १ लाखका दरले वार्षिक ५० लाख, गरी करीब ३ करोड ५० लाख रुपैयाँ नेपाल सरकारलाई रोयल्टीस्वरूप बुझाउनुपर्नेछ।

रोयल्टी रकम आयोजनाबाट प्रभावित जिल्ला, नगरपालिका तथा वडा कार्यालयमा समेत वितरण हुने भएकाले स्थानीय विकासमा प्रत्यक्ष टेवा पुग्ने उल्लेख छ।

यसले सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूमा खानेपानी, मठमन्दिर, विद्यालय, सडक मर्मत तथा अन्य पूर्वाधार विकासका काम सम्बन्धित निकायसँग समन्वय गरी सञ्चालन गरिनेछ।

कम्पनीले आगामी चरणमा स्थानीयलाई शेयर निष्कासन गरी नेपाल स्टक एक्सचेन्जमा सूचीकरण गर्ने योजना पनि सार्वजनिक गरेको छ।

विज्ञप्तिअनुसार नेपाल सरकारले आगामी १० वर्षभित्र २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ। मर्स्याङ्दी बेसी ५० मेगावाट आयोजना सो राष्ट्रीय लक्ष्यलाई पूरा गर्न सहयोगी बन्ने कम्पनीको अपेक्षा छ।


Read Previous

सरकारले शान्तिपूर्ण तथा सुरक्षित व्यावसायिक वातावरण सुनिश्चित गर्न आवश्यक छ : महासंघ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar