
काठमाडौं। भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावित माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनामा कार्यरत ५५७ जना सम्पर्कविहीन रहेको आयोजनाको प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीले जनाएको छ।
सम्पर्कविहीनमध्ये करिब ११५ जना हेडवर्क्स क्षेत्र तथा मुख्य सुरुङभित्र फसेको आशंका गरिएको कम्पनीले जनाएको छ। आयोजनामा कार्यरत कर्मचारी तथा कामदारको खोजी तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय तथा विदेशी प्राविधिकसहित विभिन्न टोली परिचालन भएका छन्।
कम्पनीका अनुसार बाढीका कारण आयोजनामा कार्यरत ७८६ जनाको उद्धार भइसकेको प्रारम्भिक विवरण छ। बाढीअघि आयोजनास्थलमा प्रवर्द्धक कम्पनी, परामर्शदाता, मुख्य निर्माण ठेकेदार तथा विभिन्न उपठेकेदार कम्पनीका गरी करिब १ हजार ४३३ जना जनशक्ति कार्यरत थिए।
बाढीले आयोजनाको बाँध, मुख्य सुरुङ, भूमिगत विद्युत्गृह, हेडवर्क्सलगायत निर्माणाधीन संरचना तथा कार्यालय र आवास क्षेत्रसमेत बगाएको छ। अत्यन्त छोटो समयमा ठूलो बाढी र लेदो तथा ढुंगा आयोजनास्थलमा प्रवेश गरेपछि निर्माणस्थल तथा कार्यालयमा कार्यरत अधिकांश कर्मचारी र कामदार सुरक्षित स्थानतर्फ जान नसकेको कम्पनीले जनाएको छ।
हेलिकोप्टरबाट सुरुङ क्षेत्रमा खोजी
बाढी आएको भदौ १० गतेदेखि नै आयोजनाले विभिन्न माध्यमबाट खोजी तथा उद्धारलाई तीव्रता दिएको जनाएको छ।
भदौ १० गते बाढीको सूचना पाएलगत्तै आयोजनाको व्यवस्थापनले बिहानै कर्मचारीलाई पूर्वसूचना दिएको थियो। त्यसपछि आयोजनास्थलमा रहेका कर्मचारीलाई सुरक्षित स्थानतर्फ लैजाने प्रयास गरिएको थियो। कम्पनीका व्यवस्थापक, प्रमुख वित्त अधिकृतलगायतका कर्मचारीलाई आवश्यक समन्वयका लागि नुवाकोटको विदुर पठाइएको थियो।
सोही दिन आयोजनाको भूमिगत विद्युत्गृह जाने सुरुङ नजिक हेलिकोप्टरबाट अवतरण तथा रेकी गर्दा भूमिगत संरचनाभित्र ठूलो संख्यामा कामदार फसेको हुन सक्ने अवस्था पहिचान गरिएको थियो। उनीहरूको तत्काल उद्धारका लागि सम्बन्धित निकायलाई जानकारी गराइएको कम्पनीले जनाएको छ।
भदौ ११ गते बाढीमा परी हराएका व्यक्तिको खोजीका लागि आयोजनास्थल तथा आसपासका क्षेत्रमा दुई पटक हवाई निरीक्षण गरिएको थियो।
भदौ १२ गते राहत सामग्रीसहित हेलिकोप्टरबाट आयोजनाको माथिल्लो क्षेत्रमा खोजी तथा उद्धार कार्य सञ्चालन गरिएको थियो। सो क्रममा डाँडागाउँ प्रहरी चौकी नजिक घाइते अवस्थामा भेटिएका आयोजनाको एक उपठेकेदार कम्पनीमा कार्यरत भारतीय नागरिकको उद्धार गरी सम्बन्धित कम्पनीको जिम्मा लगाइएको थियो।
ग्राङदेखि मैलुङसम्म पैदल खोजी
भदौ १३ गते खोज तथा उद्धारलाई थप प्रभावकारी बनाउन सिम्रिक सेक्युरिटी गोर्खा फोर्स परिचालन गरिएको थियो। फोर्सका पाँच जना र चार जना स्थानीयसहितको टोलीले आयोजनास्थलभन्दा माथिल्लो क्षेत्र ग्राङदेखि मैलुङसम्म पैदल खोजी गरेको थियो।
खोजीका क्रममा एउटा शव देखिए पनि अत्यधिक लेदोका कारण उक्त स्थानसम्म पुग्न नसकिएको कम्पनीले जनाएको छ। हालसम्म सो क्षेत्रमा अन्य व्यक्तिको अवस्था पत्ता लाग्न सकेको छैन।
यसैबीच कोरियाली तथा नेपाली प्राविधिक सम्मिलित टोलीले जंगल तथा नदी तटीय क्षेत्रमा ड्रोनमार्फत समेत खोजी तथा सर्वेक्षण गरिरहेको छ।
हेडवर्क्स क्षेत्रमा चिनियाँ टोलीसहित खोजी
भदौ १५ गते गृह मन्त्रालय, नेपाली सेना तथा अन्य सुरक्षा निकायसँग समन्वय गरी दुई हेलिकोप्टरमार्फत आयोजनाको हेडवर्क्स क्षेत्रमा खोजी गरिएको थियो।
सुरक्षा निकाय तथा नेपाल माउन्टेन रेस्क्यु एसोसिएसनको टोलीले संयुक्त रूपमा एडिट-१ तथा डिसेन्डर क्षेत्रमा खोजी गरेको थियो। हेडवर्क्स क्षेत्रमा बेपत्ता व्यक्तिको खोजीका लागि नेपाली सेना तथा चिनियाँ विज्ञको टोलीसमेत परिचालन गरिएको कम्पनीले जनाएको छ।
बाढीका कारण हेडवर्क्स क्षेत्र पूर्ण रूपमा लेदोले भरिएको र त्यहाँ रहेका उपकरण सञ्चालन गर्न सकिने अवस्था नरहेको पाइएको छ। त्रिशूली नदीको दायाँ तथा बायाँ किनारमा समेत खोजी गरिए पनि थप व्यक्ति फेला पर्न सकेका छैनन्।
भदौ १६ गते खोज तथा उद्धार कार्यलाई थप तीव्रता दिन नौ जना शेर्पा सम्मिलित विशेष टोली परिचालन गरिएको छ। तालिमप्राप्त कुकुर तथा उपकरणसहितको थप टोली पोखराबाट रसुवा पठाइएको छ।
उक्त टोलीले म्यान्ट्रेलिङ तथा एयर-स्क्यानिङ प्रविधि प्रयोग गरी सम्भावित क्षेत्रमा खोजी गरिरहेको छ। स्थल तथा हवाई माध्यमबाट भइरहेको खोजीलाई एकीकृत गरी सम्भावित सबै क्षेत्रमा व्यवस्थित रूपमा खोजी गर्ने तयारीसमेत गरिएको कम्पनीले जनाएको छ।
उद्धार कार्यमा सहयोग पुर्याउन ६.५ एचपी क्षमताका पम्प तथा जेनेरेटरसमेत हेडवर्क्स क्षेत्रमा पठाइएको छ। बाढी तथा लेदोका कारण जम्मा भएको पानी हटाउन तथा सुरुङ र अन्य सम्भावित स्थानमा उद्धार कार्य सञ्चालन गर्न ती उपकरण प्रयोग गरिनेछ।
परिवारसँग नियमित सम्पर्क
सम्पर्कविहीन व्यक्तिका परिवारसँग आयोजनाले नियमित सम्पर्क कायम राखेको जनाएको छ। परिवारबाट प्राप्त सूचना तथा उद्धार गरिएका कर्मचारीले दिएको विवरणका आधारमा सम्भावित खोजी क्षेत्र पहिचान गरी उद्धार तथा खोजीमा परिचालित टोलीलाई जानकारी गराउने व्यवस्था मिलाइएको छ।
परिवारजनलाई आवश्यक परामर्श तथा मनोसामाजिक सहयोग उपलब्ध गराउने प्रयाससमेत भइरहेको कम्पनीले जनाएको छ।
खोज तथा उद्धारका लागि आवश्यक उपकरण, सामग्री तथा दक्ष जनशक्ति तत्काल उपलब्ध गराउन सम्बन्धित सरकारी निकायसँग समन्वय गरी आवश्यक अनुमति तथा व्यवस्थापन फास्ट-ट्र्याक प्रक्रियामार्फत अघि बढाइएको कम्पनीले जनाएको छ।
गृह, अर्थ, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, अन्य सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहसँग निरन्तर समन्वय गरी स्थल तथा हवाई उद्धारका लागि आवश्यक व्यवस्था मिलाइएको छ।
कम्पनीले उपलब्ध सबै स्रोत, साधन, प्रविधि र जनशक्ति परिचालन गरी सम्पर्कविहीन आफ्ना कर्मचारी तथा कामदारको खोजी तथा उद्धारलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ।
