
काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ मा ६ वर्ष यताकै धेरै पूँजीगत खर्च भएको छ ।
आव २०८१/०८२ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कार्यसम्पादनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा गत आवमा ६ वर्ष यताकै सबैभन्दा धेरै पूँजीगत खर्च भएको मन्त्री देवेन्द्र दाहालले बताए ।
गत आवमा बिनियोजित पूँजीगत खर्च मध्येबाट ७६.४१ प्रतिशत प्रगती भएको मन्त्रालयले जनाएको छ । मन्त्री दाहालकाअनुसार गत आवमा भएको पुँजीगत खर्च औसत राष्ट्रिय पूँजीगत खर्चभन्दा करिब १३ प्रतिशत बढि भएको छ ।
दाहालकाअनुसार गत आवमा बिनियोजित बजेटका कुल ६७ बजेट उपशीर्षकमध्ये २५ वटा उपशीर्षकमा ९० प्रतिशतभन्दा बढि प्रगती हासिल भएको छ ।

साथै, गत आर्थिक वर्षमा सबै जिल्ला राष्ट्रिय सडक सञ्जालमा पनि जोडिएका छन् । गत जेठमा हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै नेपालभरका सबै जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएका हुन् । हुम्लाको सिमिकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिएको थियो ।
त्यस्तै, गत आवमा लक्ष्य राखेभन्दा धेरै सडक कालोपत्र भएका छन् भने गत वर्ष नै नेपालमा सुरुङमार्ग पनि छिचोलिएको छ । सरकारले गत आवमा करिब ९३० किलोमिटर कालोपत्रे गर्न लक्ष्य राखेकोमा ९३२ किमी कालोपत्रे सम्पन्न भएको छ ।
यद्यपी पुल निर्माणमा सरकारले राखेको लक्ष्य भने पुरा भएको छैन । सरकारले १५० पुल निर्माणको लक्ष्य राखेको भएतापनि १०५ वटा पक्की पुल निर्माण भएका छन् भने १० वटा बेलीबृज जडान सम्पन्न भएका छन् ।
साथै, सिद्धबाबा सुरुङ मार्गको १.१२६ मिटर मुख्य सुरुङ खन्ने कार्य सम्पन्न भएको तथा बरिक ९०० मिटर कन्क्रिट लाइनिङ सम्पन्न भएको मन्त्री दाहालले बताए ।
नेपालको पहिलो फ्लाईओभर पनि गत आव २०८१/०८२ मा नै निर्माण सम्पन्न भएर सञ्चालनमा आएको छ । ग्वार्कोस्थित उक्त फ्लाईओभर असार ६ गतेबाट सञ्चालनमा आएको थियो ।
त्यस्तै, गत आर्थिक वर्षमा नेपालको उत्तर र दक्षिण कोरीडोर सडक पनि जोडिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको एक वर्षको प्रगतीको पूर्णपाठ