
काठमाडौं । कुखुराको दाना उत्पादन गर्ने कम्पनी नेपाल वेलहोप एग्रीटेकको व्यापारमा केही कमि आएको छ ।
यो कम्पनीले २०२४ मा ४ अर्ब ८६ करोड ६० लाख रुपैयाँको व्यापार गरेको हो । यसअघि २०२३ मा यो कम्पनीले ५ अर्ब २२ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो । २०२२ मा ५ अर्ब ६५ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो ।
२०२३ को तुलनामा २०२४ मा भने कम्पनीको व्यापारमा केही कमि आएको हो ।
कम्पनीको व्यापारमा बृद्धि भइरहँदा मार्जिनमा भने केही कमि आएको छ । कम्पनीको पिबिआइएलडीटी मार्जिन (ब्याज, लिज, मूल्यह्रास र कर तिर्नु अघि को नाफा) मा कमि आएको हो ।
२०२२ मा कम्पनीको पिबिआइएलडीटी मार्जिन ५.३५ प्रतिशत कायम भएकोमा २०२३ मा बृद्धि भएर ६.८५ प्रतिशत कायम भएको थियो । २०२४ मा भने यसको मार्जिनमा केही कमि आएर ४.८७ प्रतिशत मार्जिन कायम भएको छ ।
नेपाल वेलहोप एग्रीटेक प्रालि २००५ मा खुलेको कम्पनी हो, जसलाई वैद्य ग्रुप र चिनियाँ कम्पनी वेलहोप फुट्स कम्पनी लिमिटेडले संयुक्त रुपमा खोलेका हुन् । यो कम्पनीले मुख्य गरि नेपाली बजारमा कुखुराको दानादेखि सुँगुर, माछा, गिरिराज तथा बाख्राका लागि दाना उत्पादन गर्दै आएको छ । कम्पनीले मुख्य गरि विजय पेलेट दाना ब्रान्ड नाममा यी उत्पादनको बिक्री गर्छ भने यसको उत्पादन कारखाना चितवन, बिराटनगर र नेपालगञ्जमा रहेको छ ।
व्यापारमा कमि आएको कम्पनीले हालका लागि ३ अर्ब २८ करोड ५२ लाख रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले यो कम्पनीलाई ९८ करोड ५२ लाख रुपैयाँको दीर्घकालिन कर्जा सुविधाका लागि डबल बी प्लस र २ अर्ब ३० करोड रुपैयाँको अल्पकालिन कर्जा सुविधाका लागि ए फोर रेटिङ दिएको छ ।