Nepal Purbadhar

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना ९२ प्रतिशत पूरा


बाँके। बाँके जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाकाे ९२ प्रतिशत भौतिक प्रगति भएकाे छ । त्यस क्षेत्रकाे खेती याेग्य भूमिमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यले निर्माणाधीन याे सिँचाइ आयोजना पूरा हुने चरणमा पुगेकाे हाे ।

 “चालु आवमा सिक्टा सिँचाइ आयोजनालाई पुँजीगततर्फ ८३ करोड ९८ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो, जेठ मसान्तसम्म ७६ करोड ५२ लाख २७ हजार रुपैयाँ बजेट खर्च भइसकेको छ”, आयोजनाका इन्जिनियर सन्देश पौडेलले भने ।

चालू आवमा सिक्टा सिँचाइ आयोजनाको पूर्वी मूल नहरको बाँकी कामको ठेक्का व्यवस्थापन, पश्चिमी मूल नहरतर्फका प्रसेनीपुर, अकलघरवा तथा गोहा शाखा नहरको ठेक्का सम्झौता गरी निर्माण, गुरुवागाउँ शाखा नहर निर्माण, विभिन्न शाखा, प्रशाखा नहरका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण गर्नेलगायत काम भएको उनले बताए ।

सिक्टा सिँचाइ आयोजनालाई आगामी आव २०८१/८२ मा बजेट सिलिङ बढेको छ । आव २०८१/८२ को बजेटमा सिक्टा सिँचाइ आयोजनालाई १ अर्ब ६० करोड रुपैयाँ विनियोजन भएको छ । चालू आव २०८०/८१ मा सिक्टा सिँचाइलाई  १ अर्ब ३५ करोड रुपैयाँ विनियोजन भएको थियो ।

“गत वर्षको भन्दा यो वर्ष केही बढाएर बजेट विनियोजन भएको छ”, पौडेलले भने, “अहिले हामी डुडुवा शाखा नहरको काम गरिरहेका छाैं, आगामी बजेट पनि त्यसैमा धेरै होला ।”

बाँकेको राप्ती सोनारी गाउँपालिका–२ अगैयास्थित राप्तीमा बाँध निर्माण गरी बाँकेको खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउन आयोजना निर्माण गरिएको हो । आर्थिक वर्ष २०६२/६३ मा सुरु भएको आयोजना पछिल्लो संशोधित गुरुयोजनाअनुसार आव २०८९/९० मा सम्पन्न गर्ने लक्ष्य छ ।

आयोजनाको निर्माणाधीन पश्चिमी मूल नहरले बाँके जिल्लाको राप्ती नदी पश्चिम भेगको ३३ हजार सात सय ६६ हेक्टर र पूर्वी मूल नहरले राप्ती नदी पूर्वी भेगको करिब ९ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य छ ।

संशोधित गुरुयोजनाअनुसार आयोजनाको लागत ५२ अर्ब ८९ करोड रुपैयाँ छ । सरकारले आयोजनालाई वार्षिक रूपमा कम बजेट विनियोजन गर्दै आएकाले मुआब्जा वितरणलगायत समस्या समाधानको चुनौती पनि छ ।


Read Previous

४०० केभी ढल्केबर-इनरुवा प्रसारण लाइन र हेटौँडा सबस्टेसनको औपचारिक उद्घाटन हुँदै   

Read Next

देशकाे तेस्रो ठूलो ४०० केभी हेटौंडा सबस्टेसनको औपचारिक उद्घाटन