वीरगञ्ज। औद्योगिक नगरी बारा र पर्सामा विद्युत माग र आपूर्तिबीच सन्तुलन नमिल्दा ट्रिपिङ (झ्याप्प–झ्याप्प) विद्युत् कटौती हुने समस्या देखिएको छ । बारा र पर्साका औद्योगिक कोरिडोरमा दैनिक ३ सय मेगावाट विद्युत माग भए पनि अहिले २ सय मेगावाटको हाराहारीमा मात्रै आपूर्ति हुँदा विद्युत कटाैतीकाे मार झेल्नु परेकाे हाे ।
माग अनुसारकाे विद्युत आपूर्ति हुन नसक्दा अहिले ट्रिपिङका कारण विद्युत लाइन झयाप्प–झ्याप्प काटिने समस्या देखिएको छ । नेपाल विद्युत प्राधिकरण वितरण वीरगञ्ज वितरण केन्द्र प्रमुख अवधेशकुमार दुबेले विद्युतकाे माग र आपूर्तिबीच सन्तुलन नहुँदा बेला बखत ट्रिपिङ हुने समस्या रहेको बताए ।
“बारा–पर्सा औद्योगिक कोरिडोरमा तीन सय मेगावाट विद्युतकाे माग छ”, उनले भने, “रक्सौल–परवानीपुर १३२ केभीको प्रसारण लाइनबाट १४० मेगावाट विद्युत भारतबाट आयात हुँदै आएको छ । अन्य ६० मेगावाट विद्युत ११ केभी फिडरबाट आपूर्ति हुँदै आएको छ ।”
प्रमुख दुबेले बारा–पर्साका औद्योगिक क्षेत्रलाई प्राथमिकताका साथ विद्युत उपलब्ध गराउँदै आएको बताए । बारा र पर्सामा अत्यधिक गर्मी बढेकाले घरासयी तथा औद्योगिक क्षेत्रको विद्युतकाे माग अत्यधिक बढिरहेकाले पनि बेला बखतमा ट्रिपिङ हुने गरेको उनकाे भनाइ छ ।
प्रमुख दुबेका अनुसार परवानीपुर–पिलुवा १३२ केभीको डबल सर्किट लाइनको प्रसारण लाइनमध्ये एउटा लाइनको कन्डक्टर अपग्रेडको काम भइरहेको छ ।
“कन्डक्टर अपग्रेडको काम केही समयभित्रै सक्ने प्रयास भइरहेको छ । त्यसपछि वितरण लाइनमा केही सहजता आउनेछ”, उनले भने । उक्त समस्या एक महिनाभित्र समाधान हुने उनले बताए । वीरगञ्ज वितरण केन्द्रअन्तर्गत कूल ५६ हजार ग्राहक छन् ।