
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको सुरक्षाका लागि दैनिक एक हजारभन्दा बढी प्रहरी परिचालन गरिने भएको छ। प्रतियोगितालाई सुरक्षित र व्यवस्थित बनाउन प्रहरीले खेलाडी, होटल, स्टेडियम, दर्शक तथा यातायात व्यवस्थापनलाई समेटेर विशेष सुरक्षा योजना तयार पारेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलिप घिमिरेका अनुसार प्रतियोगिताको सुरक्षा व्यवस्थाबारे शनिबार प्रमुख जिल्ला अधिकारीसहितको टोलीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियमको स्थलगत निरीक्षण गरेको थियो।
प्रहरीले प्रतियोगिताका लागि सुरक्षालाई विभिन्न क्षेत्रमा वर्गीकरण गरेको छ। खेलाडीको सुरक्षादेखि उनीहरू बस्ने आठ ओटा होटल, होटलबाट स्टेडियमसम्मको आवतजावत, ट्राफिक व्यवस्थापन, खेल सञ्चालन हुने समयमा स्टेडियमको सुरक्षा र दर्शकको व्यवस्थापनलाई प्राथमिकतामा राखिएको घिमिरेले बताए।
प्रतियोगिताको उद्घाटन तथा समापन समारोहमा विशिष्ट व्यक्ति (भीआईपी) र अति विशिष्ट व्यक्ति (भीभीआईपी) को आवागमन हुने भएकाले त्यस समयमा थप विशेष सुरक्षा व्यवस्था मिलाइने प्रहरीले जनाएको छ।
सुरक्षा व्यवस्थापनका लागि नेपाल प्रहरीका नियमित पोशाकमा खटिने जनशक्तिसँगै सादा पोशाकका प्रहरीसमेत परिचालन गरिनेछ। प्रहरीले स्टेडियम तथा आसपासका क्षेत्रमा सीसीटीभी क्यामेरामार्फत निगरानी गर्नेछ भने आवश्यक स्थानमा ड्रोनबाट समेत निगरानी गरिने जनाएको छ। शङ्कास्पद वस्तु तथा गतिविधिको पहिचानका लागि तालिमप्राप्त कुकुर (डग स्निफिङ) को पनि प्रयोग गरिनेछ।
स्टेडियम परिसरमा जडान गरिएका सीसीटीभी क्यामेराको निगरानी त्यहीँ खटिएका प्रहरीले गर्नेछन्। अन्य क्षेत्रका सीसीटीभी क्यामेराबाट प्राप्त दृश्य भने प्रहरीको सीसीटीभी कन्ट्रोल रुमबाट अनुगमन गरिनेछ।
नेपाल प्रहरीसँगै प्रतियोगिताको बाह्य सुरक्षामा सशस्त्र प्रहरी बलसमेत परिचालन गरिने जनाइएको छ। विभिन्न तहमा सुरक्षा व्यवस्था मिलाएर खेलाडी, पदाधिकारी, दर्शक र सर्वसाधारणको आवागमनलाई सुरक्षित बनाउने प्रहरीको तयारी छ।


