काठमाडाैं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण सम्पन्न ७१ मेगावाटको नीलगिरिखोला दोस्रो ‘क्यासकेड’ जलविद्युत आयोजनाकाे विद्युत २२० केभी कालीगण्डकी करिडाेर प्रसारण लाइनकाे दाना सबस्टेसन पुर्याउन निर्माण गरिएकाे प्रसारण लाइनकाे परीक्षण पूरा भएकाे छ । जलविद्युत आयाेजनाकाे प्रवर्द्धक नीलगिरिखोला हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण गरेकाे ७.४ किलाेमिटर लामाे प्रसारण लाइनकाे परीक्षण सकिएकाे हाे ।
प्रवर्द्धक कम्पनीले निलगिरिखाेला-१ आयाेजनाकाे विद्युतगृह रहेकाे छाेटेपादेखि दाेभिल्ना हुँदै दाना सबस्टेसनसम्म २२० केभी प्रसारण लाइन निर्माण गरेकाे छ । यही प्रसारण लाइनमार्फत एउटै समूहले निलगिरि खाेलामा निर्माण गरिरहेका जलविद्युत आयाेजनाकाे विद्युत दाना सबस्टेसनमा लगेर जाेडिनेछ ।
अहिले दाना सबस्टेसनदेखि नीलगिरिखोला दोस्रो ‘क्यासकेड’ आयोजनाकाे विद्युतगृहसम्मकाे प्रसारण लाइनमा लाेड दिएर चार्ज गरिएकाे कम्पनीले जनाएकाे छ । याे प्रसारण लाइनकाे परीक्षण गत माघ १५ गतेदेखि सुरुङकाे परीक्षण सुरु गरिएकाे थियाे ।
यस्तै, नीलगिरिखोला दोस्रो ‘क्यासकेड’ आयोजना मुख्य सुरुङमा पानी भरेर परीक्षण गर्ने कार्य अहिले भइरहेकाे छ । कम्पनीका अनुसार गत माघ १५ गतेबाटै सुरु भएकाे सुरुङकाे परीक्षण एक महिनासम्म चल्नेछ ।
आयोजनाकाे बाँध, सुरुङ, विद्युतगृह लगायत संरचनाकाे निर्माण पूरा भएपछि नेपाल विद्युत प्राधिकरणकाे प्राविधिक टाेलीकाे उपस्थितिमा परीक्षण विद्युत उत्पादन सुरु गर्ने कम्पनीकाे तयारी छ ।
छोटेपामा निर्माण भएको डिसेन्डर (बालुवा थिग्र्याउने पोखरी) मा यसअघि नै पानी हालेर परीक्षण गरिसकिएकाे छ । छोटेपादेखि दोभिल्नामा रहेको विद्युत्गृहसम्म ४.२७५ किलाेमिटर लामो सुरुङ निर्माण गरिएकाे छ । नीलगिरिखोला क्यासकेड म्याग्दीमा हालसम्म निर्माण भएको मध्ये सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो ।
नीलगिरि पहिलोको पनि हुमखोलामा बाँध र छोटेपामा विद्युत्गृहकाे निर्माण अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । विद्युत्गृहको भवन निर्माण सकेर उपकरण जडान थालिएको छ । नीलिगिरि पहिलोको करिब ८० प्रतिशत भौतिक प्रगति भएको छ । दुईवटै आयोजनाको विद्युत्गृह परिसरमा स्विचार्ड बनाइएको छ । नीलगिरि पहिलोको स्विचार्डमा गत बर्खामा पहिराले क्षति पुर्याएको थियो ।
१३ अर्ब रुपैयाँ लागत अनुमान गरिएका दुवै आयोजना रन अफ रिभर प्रकृतिका हुन् । नीलिगिरिखोलाबाट उत्पादन भएको विद्युत २२० केभी दाना सबस्टेसनमार्फत केन्द्रीय प्रसारण प्रणालीमा जोडिनेछ । छोटेपा–दोबिल्ना हुँदै दाना सबस्टेसन जोड्ने ७.४ किलोमिटर लामाे २२० केभी प्रसारण लाइन प्रवर्द्धक कम्पनीले निर्माण गरेकाे छ ।
म्याग्दीकाे नारच्याङमा यसअघि पाँच मेगावाट क्षमताको घलेम्दीखोला र ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भइ सञ्चालनमा छन् । ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना पनि निर्माणको अन्तिम चरणमा पुगेकाे छ।
९.१४ मेगावाटको सुपर घलेम्दी आयोजना निर्माणको तयारीमा छ । कालीगण्डकी हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको १६४ मेगावाटको कालीगण्डकी गर्ज आयोजनाको विद्युत्गृह नारच्याङमा बनाउन प्रस्ताव गरिएको छ । मिस्त्री खोलाको प्रवद्र्धक माउन्टेन इनर्जी नेपालले १२ मेगावाटको मिस्ट्री खोला–२ आयोजना निर्माण गर्दैछ ।