Nepal Purbadhar

सोमवार, बैशाख ३१, २०८१
Monday, May 13, 2024

सोमवार, बैशाख ३१, २०८१
Monday, May 13, 2024

नीलगिरिखोला दोस्रो ‘क्यासकेड’काे विद्युत दाना सबस्टेसन पुर्याउने प्रसारण लाइनकाे परीक्षण पूरा,सुरुङकाे परीक्षण चल्दै


काठमाडाैं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण सम्पन्न ७१ मेगावाटको नीलगिरिखोला दोस्रो ‘क्यासकेड’ जलविद्युत आयोजनाकाे विद्युत २२० केभी कालीगण्डकी करिडाेर प्रसारण लाइनकाे दाना सबस्टेसन पुर्याउन निर्माण गरिएकाे प्रसारण लाइनकाे परीक्षण पूरा भएकाे छ । जलविद्युत आयाेजनाकाे प्रवर्द्धक नीलगिरिखोला हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण गरेकाे ७.४ किलाेमिटर लामाे प्रसारण लाइनकाे परीक्षण सकिएकाे हाे ।

प्रवर्द्धक कम्पनीले निलगिरिखाेला-१ आयाेजनाकाे विद्युतगृह रहेकाे छाेटेपादेखि दाेभिल्ना हुँदै दाना सबस्टेसनसम्म २२० केभी प्रसारण लाइन निर्माण गरेकाे छ । यही प्रसारण लाइनमार्फत एउटै समूहले निलगिरि खाेलामा निर्माण गरिरहेका जलविद्युत आयाेजनाकाे विद्युत दाना सबस्टेसनमा लगेर जाेडिनेछ ।

अहिले दाना सबस्टेसनदेखि नीलगिरिखोला दोस्रो ‘क्यासकेड’ आयोजनाकाे विद्युतगृहसम्मकाे प्रसारण लाइनमा लाेड दिएर चार्ज गरिएकाे कम्पनीले जनाएकाे छ । याे प्रसारण लाइनकाे परीक्षण गत माघ १५ गतेदेखि सुरुङकाे परीक्षण सुरु गरिएकाे थियाे ।

यस्तै, नीलगिरिखोला दोस्रो ‘क्यासकेड’ आयोजना मुख्य सुरुङमा पानी भरेर परीक्षण गर्ने कार्य अहिले भइरहेकाे छ । कम्पनीका अनुसार गत माघ १५ गतेबाटै सुरु भएकाे सुरुङकाे परीक्षण एक महिनासम्म चल्नेछ ।

आयोजनाकाे बाँध, सुरुङ, विद्युतगृह लगायत संरचनाकाे निर्माण पूरा भएपछि नेपाल विद्युत प्राधिकरणकाे प्राविधिक टाेलीकाे उपस्थितिमा परीक्षण विद्युत उत्पादन सुरु गर्ने कम्पनीकाे तयारी छ ।

छोटेपामा निर्माण भएको डिसेन्डर (बालुवा थिग्र्याउने पोखरी) मा यसअघि नै पानी हालेर परीक्षण गरिसकिएकाे छ । छोटेपादेखि दोभिल्नामा रहेको विद्युत्गृहसम्म ४.२७५ किलाेमिटर लामो सुरुङ निर्माण गरिएकाे छ । नीलगिरिखोला क्यासकेड म्याग्दीमा हालसम्म निर्माण भएको मध्ये सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो ।

नीलगिरि पहिलोको पनि हुमखोलामा बाँध र छोटेपामा विद्युत्गृहकाे निर्माण अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । विद्युत्गृहको भवन निर्माण सकेर उपकरण जडान थालिएको छ । नीलिगिरि पहिलोको करिब ८० प्रतिशत भौतिक प्रगति भएको छ । दुईवटै आयोजनाको विद्युत्गृह परिसरमा स्विचार्ड बनाइएको छ । नीलगिरि पहिलोको स्विचार्डमा गत बर्खामा पहिराले क्षति पुर्याएको थियो ।

१३ अर्ब रुपैयाँ लागत अनुमान गरिएका दुवै आयोजना रन अफ रिभर प्रकृतिका हुन् । नीलिगिरिखोलाबाट उत्पादन भएको विद्युत २२० केभी  दाना सबस्टेसनमार्फत केन्द्रीय प्रसारण प्रणालीमा जोडिनेछ । छोटेपा–दोबिल्ना हुँदै दाना सबस्टेसन जोड्ने ७.४ किलोमिटर लामाे २२० केभी  प्रसारण लाइन प्रवर्द्धक कम्पनीले  निर्माण गरेकाे छ ।

म्याग्दीकाे नारच्याङमा यसअघि पाँच मेगावाट क्षमताको घलेम्दीखोला र ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भइ सञ्चालनमा छन् । ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना पनि निर्माणको अन्तिम चरणमा पुगेकाे छ।

९.१४ मेगावाटको सुपर घलेम्दी आयोजना निर्माणको तयारीमा छ । कालीगण्डकी हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको १६४ मेगावाटको कालीगण्डकी गर्ज आयोजनाको विद्युत्गृह नारच्याङमा बनाउन प्रस्ताव गरिएको छ । मिस्त्री खोलाको प्रवद्र्धक माउन्टेन इनर्जी नेपालले १२ मेगावाटको मिस्ट्री खोला–२ आयोजना निर्माण गर्दैछ ।


Read Previous

सुरुङ निर्माणमा स्वनिर्भर नेपाल

Read Next

कमजोर भौगर्भिक अवस्थाले ४६ दिनदेखि सुनकोसी मरिन डाइभर्सन परियोजनाको सुरुङ निर्माण अवरुद्ध

Leave a Reply

Your email address will not be published.