काठमाडौं । दोलखामा निर्माण हुन लागेको ५२ मेगावाटको अपर लाप्चेखोला जलविद्युत आयोजनाको विस्तृत अध्ययनका लागि सम्झौता भएको छ ।
आयोजनाको प्रवर्द्धक कम्पनी इनर्जी भेन्चर प्रालि र हाइड्रो कन्सल्ट इन्जिनियरिङ लिमीटेडबीच आयोजनाको डिजाइनको रिभ्यू, टेण्डर कागजपत्र तयारी र विस्तृत इन्जिनियरिङ डिजाइनका लागि शुक्रबार सम्झौता भएको हो ।
सम्झौतापत्रमा इनर्जी भेन्चरका तर्फबाट अध्यक्ष महेश खरेल र हाइड्रो कन्सल्टको तर्फबाट कार्यान्वयन महाशाखाका विभागीय प्रमुख सरोज श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार हाइड्रो कन्सल्टले आयोजनाको डिजाइनको मुल्यांकन, ठेक्का सम्झौताका लागि आवश्यक कागजात तयार गर्नेछ । यस्तै, आयोजनाको विस्तृत डिजाइनको काम पनि हाइड्रो कन्सल्टले गर्ने गरी सम्झौतामा हस्ताक्षर भएको छ । माथिल्लो लाप्चे नदीको बहावमा आधारित (आरओआर) जलविद्युत आयोजना हो । ९ अर्ब ४० करोड लागत अनुमान गरिएकाे आयोजनाको वित्तीय व्यवस्थापन भइसकेकाे छ । प्राइम कमर्सियल बैंककाे अगुवाइमा वित्तिय व्यवस्थापनको टुंगाे लागिसकेकाे छ ।
हाइड्रो कन्सल्ट जलविद्युत क्षेत्रमा पहिचान बनाइसकेको नेपालको अग्रणी परामर्शदाता कम्पनी हो । बुटवल पावर कम्पनी (बिपिसी) को सहायक यो कम्पनीले देशबाहिर पाकिस्तान, केन्या लगायत देशमा पनि पुगेर काम गरेको छ । हाइड्रो कन्सल्टले जलविद्युतसहित पूर्वाधारण क्षेत्रका आयोजनाको सम्भाव्यता तथा वातावरणीय अध्ययनमा इन्जिनियरिङ सेवा दिँदै आएको छ ।
हाइड्रो कन्सल्टले अहिले एक दर्जन जलविद्युत आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइन तथा ठेक्का सम्झौताका लागि कागजात तयारीको काम गरिरहेको छ । १४ आयोजना विस्तृत डिजाइन तयार भई अहिले निर्माणको विभिन्न चरणमा छन् ।
७ वटा आयोजनाको सम्भाव्यता अध्ययनको काम भइरहेको कम्पनीले जनाएको छ । सम्भाव्यता पूरा भएका १ दर्जन आयोजना छन् । परामर्श सेवा दिएको एउटा आयोजना अहिले निर्माणको अन्तिम चरणमा छ ।